बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड

https://jawaaf.com/storage/01J0TD0N90RX91XCV6WY40RMY8.jpg

काठमाडौँ, ६ असार I नेपाली कांग्रेसमा आवद्ध नेताहरुले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल महिला सङ्घले आज यहाँ अयोजना गरेको कार्यक्रममा सहभागीले निर्वाचनमा सबै राजनीतिक दलले थोरै सङ्ख्यामा महिला उम्मेदवार बनाउने गरेकाले विजयी हुनेको सङ्ख्या पनि कम हुने भन्दै महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने विषय सकारात्मक रहेको बताउनुभयो । “प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन अलग्गै सिटको व्यवस्था गर्नुपर्छ भन्ने सकारात्मक विषय हो”, उहाँले भन्नुभयो । त्यसअघि पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न सके महिलाले थप अवसर पाउने उहाँको भनाइ छ ।

नेपाल महिला सङ्घको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठी' मा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।



सभापति देउवाले मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको र उक्त व्यवस्थाले आगामी दिनमा पनि अझ सशक्त र प्रभाकारी भूमिका निर्वाह हुँदै जाने अपेक्षा गर्नुभयो । संसारमा महिला अधिकार र समावेशी समानुपाति व्यवस्थाका विषयमा आवाज उठिरहेको भन्दै उहाँले नेपालमा यसको उपलब्धिकारुपमा राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गर्नुभयो ।

भोलिका दिनमा यस्तै महत्वपूर्ण जिम्मेवारीमा महिला आउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै महिलालाई आग्रह गर्नुभयो  । 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तिकरणका साथै आर्थिक र सामाजिक सशक्तिकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला सङ्घले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले महिला सङ्घसँग राजनीतिक सङ्घर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न सङ्घ लाग्नुपर्ने धारणा राख्नुभयो ।

कांगेस प्रवक्ता डा प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता नभएसम्म कसैले पनि अधिकार नपाउने भएकाले कांग्रेसले समयसमयमा विभिन्न राजनीतिक आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न संविधान संशोधनतर्फ जानुपर्नेमा जोड दिनुभयो । 

उषा राउत मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेत्री पुष्पा भुसाल, कांग्रेस नेत्री एवं पूर्वमन्त्री सीता गुरुङलगायले कांग्रेसभित्र महिलामैत्री वातावारण रहेको बताउनुभएको थियो । संविधान, विभिन्न कानुन र पार्टी विधानमा भएका महिला अधिकार, समावेशी समानुपातिसम्बन्धी व्यवस्था कार्यान्वयनमा उहाँहरुले जोड दिनुभएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png