‘लालीबजार’ : अदालतको नजिर र निश्चल बस्नेतको कनेक्सन
काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ गत वैशाख १८ गतेदेखि प्रदर्शन हुनुपर्ने थियो । तर, उच्च अदालत पाटनमा परेको रिटमा अदालतले वैशाख २२ गतेसम्म फिल्मको प्रदर्शन नगर्न अन्तिम अल्पकालीन आदेश दिँदै छलफलमा बोलाएको छ ।
चलचित्र विकास बोर्डबाट स्क्रीप्ट पास भएर केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरिसकेको ‘लालीबजार’ को प्रदर्शन अन्तिम समयमा रोकिँदा फिल्मकर्मीले असन्तुष्टीसमेत प्रकट गरेका छन् ।
वैशाख १८ गते प्रदर्शन हुने फिल्म ‘लालीबजार’ सरकारकै निकायले जाँच गरेर पास गर्दा कुनै एक व्यक्तिले समुदायको भावनालाई ठेस पुग्ने भन्दै दिएको रिटमा दुई पक्षको छलफल नभई फिल्म रोकिनु दुःखद रहेको प्रतिक्रिया दिँदै फिल्मसँग सम्बन्धित सङ्घसंस्थाले कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रता हुनुपर्नेमा जोड दिएका छन् ।
फिल्मको कथा काल्पनिक हुने र त्यसमा देखाएका घटनाक्रमलाई लिएर अन्तिमसमयमा फिल्मको प्रदर्शन रोक्ने परिपाटी गलत रहेको ठहर गर्दै फिल्म निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता सङ्घ, वितरक तथा प्रदर्शकको संस्था नेपाल चलचित्र सङ्घ र निर्देशकहरूको संस्था नेपाल चलचित्र निर्देशक समाजसहितका फिल्मसँग सम्बन्धित संस्थाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । निर्माता सङ्घका अध्यक्ष उदय कुमार ईङ्नामले अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामाथिका लागि फिल्मकर्मी एकजुट भएर लड्ने बताए ।
उनले भने, ‘फिल्म केवल मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्ति स्वतन्त्रताको सशक्त माध्यम भएकाले प्रदर्शनमा रोक लगाउनु दुःखद छ । प्रदर्शनको अन्तिम तयारीमा रहँदा कुनै एक व्यक्तिले आरिप लगाएकै भरमा अवरोध सिर्जना हुनुले समग्र उद्योगलाई नै सशंकित बनाएको छ । राज्यको वैधानिक निकाय ‘केन्द्रीय चलचित्र जाँच समिति’ ले प्रदर्शनका लागि अनुमति दिइसकेको अवस्थामा प्रदर्शन रोकिनुले स्वतन्त्र लगानीकर्ता र सर्जकको मनोबल कमजोर पारेको छ ।’
उनले विधिको शासन र न्यायपालिकाप्रति पूर्ण निष्ठा व्यक्त गर्दै सिर्जनामाथिको बन्देज वा अवरोध हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरे । यस्तै, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्रको प्रदर्शन रोकिँदा यसले सिर्जनात्मक दायरालाई साँघुरो बनाउने बताए ।
‘फिल्म समाजका विविध यथार्थ, विचार र सम्वेदनालाई अभिव्यक्त गर्ने सशक्त कला हो । लोकतान्त्रिक व्यवस्थामा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र रहेर सर्जकले आफ्नो सिर्जना स्वतन्त्र रूपमा प्रस्तुत गर्न पाउनु पर्ने हाम्रो स्पष्ट मान्यता हो । एउटा फिल्म निर्माण हुनु भनेको निर्देशक, लेखक, कलाकार तथा सयौं प्राविधिकहरूको दीर्घकालीन समर्पण र सिर्जनात्मक श्रमको परिणाम हो । अन्तिम समयमा फिल्मको प्रदर्शन रोकिदा आर्थिकसँगै कलात्मक क्षति समेत हुन्छ, यस प्रति राज्यले जिम्मेवार भएर सोच्नु आवश्यक छ’, अध्यक्ष पराजुलीले भने ।
फिल्म वितरक तथा प्रदर्शकको छाता संस्था चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले फिल्मको प्रदर्शन रोकिँदा निर्माण पक्षसँगै प्रदर्शक (हल संचालक) लाई पनि क्षति पुगेको बताए ।
‘फिल्मको प्रदर्शन रोकिँदा निर्माण पक्षलाई त क्षति पुग्छ नै, हामी प्रदर्शकले पनि अन्तिम अवस्थामा कुन फिल्म प्रदर्शन गर्ने भन्ने अन्येल हुन्छ । फिल्मको प्रदर्शन रोकिंदा त्यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरैलाई क्षति पुग्छ, तसर्थ यसबारे निर्णय लिँदा सम्मानित अदालतले फिल्मसँग सम्बन्धित संस्था वा सरकारी निकाय चलचित्र विकास बोर्ड, केन्द्रीय चलचित्र जाँच समिति लगायतसँग परामर्श लिनुपर्छ भन्ने हाम्रो माग हो’, अध्यक्ष महर्जनले भने ।
उनले नेपाली चलचित्र ‘लालीबजार’ मा कुनै समुदायको पृष्ठभूमिमा कथा तयार गरिएकै आधारमा प्रदर्शनमा रोक लगाउने निर्णयप्रति आफ्नो असहमति रहेको बताए । यसअगाडि बादी समुदायको प्रसंग जोडिएकै कारण ‘पण्डित बाजेको लौरी’, नाम मिलेकै कारण ‘एक्टर’ र नेपाली कांग्रेसका नेता अफताब आलमसँग आवरण मिल्दो देखिएपछि ‘लाज शरणम्’ फिल्म पनि प्रदर्शनका लागि अन्तिमसमयमा रोकिएको थियो ।
यद्यपि, ती फिल्मपछि निर्वाध रुपमा प्रदर्शन भएका थिए । नेपाली फिल्म क्षेत्रको सृजनात्मक स्वतन्त्रता, गुणस्तर अभिवृद्धि र पेशागत अधिकारको संरक्षणका लागि फिल्मकर्मीहरूले कलात्मक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जोड दिएका छन् ।
‘लालीबजार’ विवाद : रिट, कानुनी प्रक्रिया र अघिल्लो नजिरको सन्दर्भ
‘लालीबजार’ कै प्रकृतिको मुद्दामा सर्वोच्च अदालतले अघिल्लो समय दिएको निर्णयलाई सन्दर्भका रूपमा हेर्न सकिन्छ। वादी समुदायको कथामा आधारित फिल्म ‘पण्डित बाजेको लौरी’ तथा ‘नथिया’ र ‘ऐलानी’ उपन्यासविरुद्ध २०७५ असोज ४ गते दायर रिटमा सर्वोच्च अदालतले २०७५ फागुन १५ मा फैसला गर्दै प्रकाशन तथा प्रदर्शन रोक्न परमादेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको थियो ।
फैसलाको पूर्णपाठ (२०७६ वैशाख) मा अदालतले उक्त कृतिहरू कानुन विपरीत नभएको उल्लेख गर्दै परमादेश जारी नगर्ने निर्णय दिएको थियो । साथै, अदालतले नियामक निकाय चलचित्र विकास बोर्ड र केन्द्रीय चलचित्र जाँच समितिलाई निर्देशनात्मक आदेश दिँदै कुनै पनि समुदायको मान मर्यादा, इज्जत र आत्मसम्मानमा आघात पुग्ने सामग्रीको प्रदर्शनमा नियन्त्रण गर्न भनेको थियो ।
उक्त निर्देशनअनुसार फिल्म निर्माणको क्रममा कथा तथा सामग्रीको प्रारम्भिक अध्ययन गरिन्छ भने प्रदर्शनअघि जाँच समितिबाट आवश्यक परीक्षण तथा वर्गीकरण गरिन्छ । फिल्म ‘लालीबजार’ले पनि जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरिसकेको छ, जसले तोकिएका मापदण्ड पूरा गरेको संकेत गर्छ।जाँच समितिले केही संवाद हटाउने वा म्यूट गर्ने सर्त राखेको र निर्माण पक्षले ती सर्त पालना गरिसकेको छ । फिल्मको सुरुमै ‘यसमा देखाइएका पात्र र घटना काल्पनिक हुन्’ भन्ने अस्वीकरणसमेत समावेश गरिएको जानकारी प्राप्त भएको छ ।
अघिल्लो नजिरअनुसार नियामक निकायहरूले आफ्नो भूमिका निर्वाह गरेको अवस्थामा फिल्मले कुनै समुदायको भावनामा ठेस नपु¥याएको ठान्न सकिने तर्क प्रस्तुत गरिएको छ । तथापि, अदालती प्रक्रियाप्रति सम्मान जनाउँदै कानुनी निर्णयको पालना गर्दै ‘लालीबजार’ वैशाख २२ गतेसम्म प्रदर्शन रोक्न बाध्य भएको छ ।
के भन्छन् बादी समुदायका अभियन्ता
षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । फिल्मको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनैपनि विषय वा प्रसंग फिल्ममा नरहेको फिल्म हेरिसकेका बादी समुदायका अभियन्ताले बताएका छन् ।
अभियन्ता देवीसरा बादीले फिल्मले आफ्नो आमाको कथालाई प्रस्तुत गरेको बताउँदै आँखा रसाएको बताइन । उनले भनिन्, ‘हामीले फिल्म हेरिसकेका छौँ । केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो निर्माण पक्षले हटाउनुभयो, हामी कृतज्ञ छौँ । यो कथाले वा ‘लालीबजार’ फिल्मले हाम्रो समुदायको भावनामा ठेस पुर्याउने कुनै काम गरेको छैन । उल्टै यसमा हाम्रो सङ्घर्ष र विन्द्रोहको कथा देखाइएको छ । यसले हामीलाई हाम्रो अधिकारको लागि लड्न झनै हौसला दिएको छ ।’
उनले ‘लालीबजार’ सार्वजनिक प्रदर्शनमा आएपछि आफ्नो संस्थामार्फत समुदायका महिलालाई देखाउने बताइन । यस्तै, बादी समुदायका अभियन्ताको रुपमा परिचित हिक्मत बादीले पनि फिल्म हेरेपछि समुदायको भावनालाई ठेस पुग्ने कुनै आशय ’लालीबजार’ मा नरहेको प्रस्ट्याए ।
‘यो तराईको आमाको कथा हो । हामीलाई आपत्ति लागेको शब्द हटाएपछि फिल्मलाई लिएर आपत्ति मान्नुपर्ने, रोक्नु पर्ने कुनै कारण छैन । हामीले हाम्रो विरुद्ध भएको शोषणको आवाज अब उठाउने बेला आएको छ, हामीले सडकमा उठाईरहेका छौँ । फिल्ममा पनि कलाका मध्यमले हाम्रो विरोधको आवाज सुनिन थालेको छ, यसमा नराम्रो छ भन्ने मलाई लाग्दैन ।’
उनले फिल्ममा शासक र शोषकबाट आमाले बचाउन गरेको सङ्घर्षले बादी महिलासँगै अन्य समुदायका महिलालाई पनि अन्याय विरुद्ध लड्न बल दिने बताए । जबसम्म लुकेको घाउ देखाइँदैन, तबसम्म डाक्टरले उपचार गर्न नसक्ने रमा बादीले बताइन ।
‘हामी फिल्म हेर्ने मनसायले आएका थिएनौं, हामी हाम्रो सरकारसँग गरिएको सम्झौता किन कार्यन्वयन भएन् भनेर सिंहदरबार पुगेका थियौँ । त्यहाँ हाम्रो समुदायको कथामा फिल्म बनेको छ भन्ने थाहा पाएपछि हामीले हेरेका हौँ । हामीले हाम्रो राय पनि दिईसकेका छौँ । यो फिल्म मूलतः आमा र छोरीको कथा हो । शासकले शोसन गरेको आमाले आफ्नो छोरीका लागि लड्ने लडाई हामी सबैका लागि प्रेरणा छ । यो हाम्रो आमाको कथा हो, जसले हाम्रो लागि लडीन्’, उनले भनिन् ।
यस्तै, पदम राना बादी, रमेश गन्दर्भ बादी लगायतले पनि फिल्म हेरिसकेको र समुदायलाई आपत्ति हुने कुनै दृश्य र संवाद नरहेको बताए । तर केही वादी समूदायका अभियन्ताहरुले फिल्मभित्र समेटिएको कथाबस्तुको खुलेर विरोध गरिरहेका छन् ।
‘लालीबजार’ सँग निश्चल बस्नेतको कनेक्सन के हो ?
षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ का निर्माता म्याक्स दीपेश खत्री हुने भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । प्रदर्शनको अन्तिम समयमा अदालतबाट वैशाख २२ गतेसम्म प्रदर्शनमा अस्थायी रोक लगाईएपछि फिल्मसँग सम्बन्धित संस्थाले विरोध जनाउँदै माइतीघर मण्डलामा संयुक्त विरोध कार्यक्रम गरेको थियो ।
फिल्म निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता सङ्घ, वितरक तथा प्रदर्शकको संस्था नेपाल चलचित्र सङ्घ र निर्देशकहरूको संस्था नेपाल चलचित्र निर्देशक समाजसहितका फिल्मसँग सम्बन्धित संस्थाले गरेको विरोध कार्यक्रममा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक मनोज पण्डित, गणेशदेव पाण्डे, सुयोग गुरुङ, रौनकविक्रम कँडेल, माइकल चन्दसँगै निर्देशक निश्चल बस्नेत पनि उपस्थित थिए ।
अन्यायका विरुद्धमा आवाज उठाउने निश्चलले यसपटक पनि प्रदर्शनको अन्तिम समयमा फिल्म रोकिनु गलत भएको बताउँदै असहमति जनाए । उनले सरकारी निकायले नै प्रदर्शनको लागि इजाजत दिएको फिल्मलाई अन्तिम समयमा कुनै एक व्यक्तिले आरोप लगाएकै भरमा रोकिनु सिर्जनात्मक स्वतन्त्रता नरहेको बताएका थिए ।
उनी फिल्मको निर्माण, निर्देशन वा कलाकारका रुपमा जोडिएका छैनन् । नत उनले केवल ‘लालीबजार’ का लागि आवाज उठाएका हुन् । उनले फिल्मकर्मीको दायित्वका रुपमा आफ्नो विचार व्यक्त गरेका हुन् ।
‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ : विपिन कार्की
काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता कार्कीले आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए ।
उनले भने, ‘हामीले काजी भन्ने बितिकै मुखिया, गाउँको ठूलाबडा भन्ने बुझ्छौ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो । काजी परिवारको भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको कथा हो ।’
अभिनेता कार्कीले ‘काजी’ मा देखाईएको प्रेम कथा ‘रोमियो जुलियट’, ‘मुना मदन’ जस्तै आगामी धेरै वर्षसम्म सम्झिने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे । उनले फिल्मको कथावस्तु, निर्देशकीय पक्ष, छायांकन पक्ष, आर्ट डिपार्टको प्रशंसा गरे । अभिनेत्री केकी अधिकारी र गरिमा शर्माले फिल्मको कथाको प्रशंसा गरे । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’ मा ग्रामिण पृष्ठभूमिमा तयार गरिएको प्रेमकथा देखाएइको छ ।
‘यो अलिक समय अगाडिकको ग्रामिण भेगमा बस्ने एउटा जोडीको प्रेम कथा हो । यसले हामीलाई हाम्रो बाल्यकाल वा त्यो भन्दा अगाडिको समयको निस्वार्थ प्रेमसँग परिचित गराउँछ । यो फिल्मले प्रेमको नयाँ कथ्यशैलीको सुरुआत गर्नेछ भन्ने लागेको छ’, निर्देशक रिजालले भने ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दीक्षित अर्याल, आरव बराल र सुपला सापकोटालगायतको अभिनय रहेको छ।
प्रदीप भारद्वाजको कथा÷पटकथा रहेको फिल्मको छायांकन चिन्तन राजभण्डारीले गरेका हुन् । फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान
काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले दाङको लमहीमा पहिलोपटक ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ आयोजना हुने भएको छ।
लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते दुईदिने उत्सव सञ्चालन गरिने भएको हो। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौंस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो।
किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलोपटक यस्तो उत्सव आयोजना गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका निर्देशक राजु आचार्यले बताए।
उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी तथा बासस्थानको अभावका कारण यसको अस्तित्व सङ्कटमा पर्दै गएको छ।
उत्सवमार्फत लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश फैलाउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने तथा जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायत जिल्लामा यस्ता उत्सव आयोजना भइसकेका छन् भने दाङमा पहिलोपटक हुन लागेको हो।
दुई दिनसम्म सञ्चालन हुने उत्सवमा चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी, श्रव्यदृश्य सामग्री प्रस्तुति, संरक्षण तथा संस्कृतिसम्बन्धी प्रदर्शनी गरिनेछ।
यसका साथै स्थानीय थारू, मगर, गुरुङ, कुमाललगायत समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता पनि आयोजना गरिनेछ। उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ।
नेपालमा लाटोकोसेरोको सिकार वा किनबेच कानुनी रूपमा निषेध छ। यदि कसैले यस्तो गरेमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना, छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकिन संख्या उपलब्ध छैन। विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख रहेको छ भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेका छन्।
‘चिरञ्जीवी भवः’ बाट डेब्यु गर्दै प्रशंसा रायमाझी
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा निकै रुचाइएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् ।
चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ बाट प्रशंसाले अभिनेत्रीका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेकी हुन् ।
यस चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को पावन अवसर पारेर गरिएको थियो । लामो समयदेखि टेलिभिजन पर्दामा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता हिट सिरिजमार्फत दर्शकको मन जित्दै आएका जिग्री र काकुको यो सहकार्यलाई चलचित्र वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो चलचित्रलाई दीपकले निर्देशन गर्दैछन् भने यसको कथा कुमारको हो । चलचित्र ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ ।
यसअघि दीपकप्रसाद आचार्यले निर्देशन गरेको चलचित्र ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यस्तै, कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो ।
‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य
काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ।
सरकारले उक्त मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट बैशाख १० गते भित्र राय तथा सुझाव माग गरेको जनाएको छ ।
मस्यौदामा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नेपाल भित्रिने पर्यटक संख्या र औसत बसाइ अवधि बढाई गुणस्तरीय पर्यटनको आधार तयार गर्ने तथा आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्य राखिएको छ ।
यसका लागि पर्यटन क्षेत्रलाई विविधीकरण गर्दै प्रकृति, संस्कृति र समुदायलाई जोडेर नयाँ पर्यटन इकोसिस्टम निर्माण गरिने उल्लेख गरिएको छ ।
पशुपतिनाथ, लुम्बिनीका साथै काठमाडौं उपत्यकाको सांस्कृतिक तथा वास्तुकलागत सम्पदा, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध धार्मिक मार्ग र जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्न विशेष पूर्वाधार निर्माण गरिनेछ ।
त्यसैगरी, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायको सहकार्यमा सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’का रूपमा मनाउँदै आरोग्य (वेलनेस) पर्यटनको प्रवर्धन गरिनेछ ।
नेपाली सभ्यता, जीवनशैली, स्थानीय भेषभूषा, रैथाने खानपान र शिल्पकलामा आधारित पर्यटन प्याकेज तथा होमस्टे सञ्चालन गरिनेछ । साहसिक तथा मनोरञ्जनात्मक पर्यटन प्रवर्धनका लागि तीनै तहका सरकारबिच समन्वय गर्दै ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियान सञ्चालन गरिनेछ ।
साल्पा सिलिचुङ, बौद्ध, लुम्बिनी, मुक्तिनाथ, हलेसी महादेव, पिण्डेश्वर, दन्तकाली, स्वयम्भू, गोसाइँकुण्ड, पशुपतिनाथ, पाथिभरा (मुकुम्लुङ), सुम्निमा-पारुहाङ लगायतका स्थलहरूलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिनेछ ।
पर्यटन तथा आतिथ्ययता सम्बन्धी तालिम कार्यक्रम प्रदेश र स्थानीय तहमा सञ्चालन गरिनेछ । मौसमी पर्यटनलाई प्रवर्धन गर्न अफ–सिजन प्याकेजसहित विशेष कार्यक्रम लागु गरिनेछ ।
पर्वतारोहण प्रवद्र्धनका लागि नयाँ हिमालहरू आरोहणका लागि खुला गरिनेछन् भने सार्वजनिक–निजी साझेदारीमा होटेल, रिसोर्ट, एडभेन्चर सेवा र इको–टुरिज्म विस्तार गरिने नीति लिइएको छ ।
तुलसी घिमिरेको ‘पहाड’ नेपालभर प्रदर्शनमा
काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै आज वैशाख १ गतेदेखि फिल्म फिल्म ‘पहाड’ नेपालभर प्रदर्शन भएको छ । बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यामा आधारित फिल्मलाई वरिष्ठ निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका छन् । फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक घिमिरेले जानकारी दिए ।
उनले भने, ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो ।’
उनका अनुसार फिल्मका कलाकारले काठमाडौँ उपत्यकाका विभिन्न चलचित्र हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन् । फिल्म ‘पहाड’ मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।
‘मालती मंगले’ को टिजर सार्वजनिक
काठमाडौं । आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ । केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
ओएसआर डिजिटलमा सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रालाई देखाइएको छ । एउटा संवादमा विजयले वर्षासँग ‘मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ’ भन्दै गरेको प्रेममय वाचा सुनिन्छ। तर, विवाहपछिको जीवन भने त्यति सहज देखिँदैन। टिजरको उत्तरार्धमा गाउँलेहरूको अगाडि विजयले वर्षालाई कुटपिट गर्दै ‘तैँले मलाई धोका दिइस्’ भन्दै आक्रोश पोखेका छन्, जसमा मालती (वर्षा) निकै अचम्मित र भावुक मुद्रामा देखिएकी छिन् । अर्का मुख्य कलाकार मेक्सम गौडेलले विजयलाई गाली गर्दै गरेको दृश्यले कथामा द्वन्द्वको सङ्केत गर्दछ, यद्यपि टिजरको अन्त्यमा दुई पात्रबिच केही रोमान्टिक दृश्यहरू पनि समेटिएका छन् ।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ । यसअघि चलचित्रको दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन् । निर्माता ढकालका अनुसार यो चलचित्र राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक नभई हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा हो ।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् ।
प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका हुन् । चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ ।
‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक
काठमाडौं । फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार’ मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।
फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर छ । गीतमा शब्द, सङ्गीत जयन जे वाइवाको रहेको छ ।
फिल्म ’लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष वैशाख १८ गतेलाई तय गरिएको छ ।
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
काठमाडौं । जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र एक मुठ्ठी बादलले पहिलो गीत सार्वजनिक गरेको छ । रेल घुम्यो घुम्तीमा बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।
सुमित पाठकको संगीतमा मिना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । गीतले एकाघरमा रहेका तीन पुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ । सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन् । गायकको रूपमा पहिचान बनाएका सुमितले चलचित्र संगीतमा सुरुवात गरेका हुन् ।
भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रूपमा प्रस्तुत गरेको छ । विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो आफ्नो जीवन भोगाइलाई गति दिएका छन् ।
निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै चलचित्रको सार हो । उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी गराउँदै गीतमा चलचित्रको कथा अटाउने चाहाना चुनौतीपूर्ण रहेको स्मरण गरिन् ।
एक मुठ्ठी बादलकी निर्देशक सहारा शर्मा भन्छिन्, ‘यो गीत बनाइरहँदा हामी सबै पुस्ताका महिलाको भावना समेट्न चाहन्थ्यौँ । हाम्रा हजुरआमा र नातिनी सबैले आत्मसात् गर्न सक्ने सिर्जना पस्कन चाहन्थ्यौँ । त्यो पूरा भएको छ भन्ने लाग्छ ।’
उनी थप्छिन्, ‘यदि तपाईँले ध्यान दिनुभयो भने, फिल्मले समेटेका धेरै विषय मध्ये एउटा विषय यो गीतमा बुनिएको छ ।’
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको चलचित्रको गीतलाई भने प्रतीक गुरुङले निर्देशन गरेका हुन् । गीतमा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । कृष्ण भण्डारीले नै गीतको कलर ग्रेडिङ पनि गरेका हुन् ।
चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
चलचित्रमा लिन्ह डान गुयेन फानको छायाङ्कन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेष भूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रूपमा शर्मिला आले र मिरा खड्काले सघाएका छन् ।
चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म सले वितरण गर्नेछ ।
नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा
काठमाडौं । नवगाठित बालेन्द्र शाह(बालेन)सरकारले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘शासकीय सुधारका १०० कार्यसूची’मा विशेष प्राथमिकता दिएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले स्वीकृत गरेको यस कार्ययोजनामा लगानी वातावरण सुधार, निजी क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकासमार्फत पर्यटन उद्योगलाई बलियो बनाउने सरकारले लक्ष्य राखेको छ ।
सरकारले पर्यटन क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र लगानी बोर्डमा दर्ता भएका ठूला पर्यटकीय परियोजनाहरूको लगानीको ढाँचा अनिवार्य रूपमा निर्धारण गर्ने भएको छ ।
९० दिनभित्र ती परियोजनाहरूलाई सरकारी कोष, सार्वजनिक–निजी साझेदारी वा निजी लगानी कुन मोडेलमा लैजाने भन्ने वर्गीकरण गरी ‘राष्ट्रिय संरचनागत परियोजना पाइपलाइन’ सार्वजनिक गरिने निर्णय गरेको छ । यसले अलमलमा रहेका ठूला पर्यटकीय पूर्वाधारहरूलाई गति दिने अपेक्षा गरिएको छ ।
पर्यटन क्षेत्रमा लगानी गर्न चाहने स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरूलाई झन्झटमुक्त सेवा दिन लगानी बोर्ड नेपाल अन्तर्गत आगामी एक महिनाभित्रै ‘एकद्वार स्वीकृति प्रणाली’ स्थापना गरी सञ्चालनमा ल्याइनेछ । यसले ठूला होटल, रिसोर्ट र साहसिक पर्यटनमा आउने लगानीलाई निर्धारित समयावधिभित्रै स्वीकृति दिने सुनिश्चित गर्नेछ ।
पर्यटन व्यवसाय दर्ता, कर दर्ता र बैंक खाता खोल्ने जस्ता प्रक्रियालाई एकीकृत गरी ४५ दिनभित्र ‘एकद्वार व्यावसायिक प्लेटफर्म’ मार्फत सेवा उपलब्ध गराइने शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रणाली पूर्ण रूपमा डिजिटल, पारदर्शी र ‘ट्र्याकिङयोग्य’ हुनेछ, जसले गर्दा पर्यटन व्यवसायीले सरकारी कार्यालय धाउनुपर्ने र बिचौलियाको सहारा लिनुपर्ने बाध्यता अन्त्य हुने बताइएको छ ।
पर्यटन व्यवसायीको विश्वास पुनस्र्थापना गर्न सरकारले ‘निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति’ तत्काल कार्यान्वयन गर्ने भएको छ । यस रणनीतिले पर्यटकीय क्षेत्रको भौतिक सुरक्षा र सम्पत्ति संरक्षणमा जोड दिनेछ । साथै, गृह मन्त्रालयले ३० दिनभित्र पर्यटकीय एवं औद्योगिक सुरक्षाका लागि ‘द्रुत प्रतिकार्य संयन्त्र’ विकास गर्नेछ ।
सरकारले पर्यटन क्षेत्रमा नयाँ सोचका साथ आउने युवा उद्यमीहरूका लागि ‘स्टार्टअप फास्ट ट्र्याक’ प्रणाली लागू गरिने निर्णय समेत गरेको छ । यस अन्तर्गत पर्यटन सम्बन्धी साना व्यवसायहरू दुई दिनभित्रै दर्ता हुने र झन्झटरहित ढङ्गले सञ्चालन हुन पाउने व्यवस्था मिलाइनेछ । साथै, पर्यटन क्षेत्रको ऋण प्रवाहमा रहेको जोखिम भार ३० दिनभित्रै पुनरावलोकन गरी ऋण सहज बनाइनेछ ।
जेनजी जनआन्दोलनका क्रममा प्रभावित भएका पर्यटन र अन्य निजी व्यवसायहरूका लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विशेष ‘सहुलियत तथा पुनःस्थापना प्याकेज’ जारी गर्ने भएका छन् । यसले सङ्कटमा रहेका होटल तथा ट्राभल व्यवसायहरूलाई आर्थिक राहत दिने अपेक्षा गरिएको छ ।
सरकारको यो १०० कार्ययोजनाले नेपालको पर्यटन बजारलाई लगानीयोग्य बनाउने र अन्तर्राष्ट्रिय जगतमा नेपाल एक सुरक्षित एवं आकर्षक पर्यटकीय गन्तव्य हो भन्ने बलियो सन्देश दिने लक्ष्य राखेको छ ।