आइतबार, ०३ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KXF91EASXV8502F3DEJJZ1TF.jpg

दुर्घट्नापछि विल्लीबाठ भएकी देविका सडकमा, गृहमन्त्रीको सान्तवना मात्र

काठमाडौं । माइतीघरको सडकमा दिनभर मानिसहरूको आवतजावत चलिरहन्छ । तर कोही आफ्ना मागसहित आउँछन्, कोही आवाज उठाउन सडक रोज्छन् । माइतीघर मण्डला परिसरमा प्रायः मागसहितका ब्यानर र प्ले कार्ड छुट्दैन् ।

घामपानीबाट जोगिन लगागार टेन्ट लगाइएको छ । त्यही टेन्टमा बसेर एक महिला आफ्नो पीडा सुनाइरहेकी छन् ।

आँखामा पीडा र आवाजमा आक्रोश लिएर उनी न्यायका लागि माइतीघरमा उत्रिएकी हुन् । उनी हुन् मोरङ सुन्दरहरैचा–७ की देविका खनाल ।

दुर्घटनापछि आफ्नो जीवन नै परिवर्तन भएको बताउने खनाल अहिले न्यायको माग गर्दै काठमाडौंको सडकबाट न्याय खोजिरहेकी छिन् । 

२०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका–३ मा भएको दुर्घटनाले देविकाको जीवनको बाटो नै बदलिदियो । 

देविकाका अनुसार दुर्घटना गराउने व्यक्ति इनरुवा नगरपालिका–६ का वडा अध्यक्ष सुमन थापा हुन् । उनले दुर्घटनापछि आफूलाई आवश्यक उपचार नगराएको, घटनाको जिम्मेवारीबाट पन्छिएको र आफूलाई अपाङ्ग अवस्थामा पुर्याएर बेवास्ता गरेको आरोप लगाएकी छन्।

सामान्य जीवन बिताइरहेकी उनी अहिले हिँड्न नसक्ने अवस्थामा पुगेकी छन्। उनका अनुसार दुर्घटनापछि कम्मरदेखि तलको भागमा गम्भीर चोट लागेको छ। पटक–पटक शल्यक्रिया गरिए पनि पूर्ण रूपमा निको हुन नसकेको उनको भनाइ छ।

कुराकानीमा खनालले दुर्घटना आफैंमा कसैको नियन्त्रणमा नहुने भए पनि दुर्घटनापछि देखाइने जिम्मेवारी र व्यवहार महत्वपूर्ण हुने बताइन्।

‘दुर्घटना जसलाई पनि पर्न सक्छ । सडकमा हिँड्दा दुर्घटना हुन सक्छ । तर गल्ती भइसकेपछि त्यसको सामना गर्नुपर्छ । पीडितको उपचार र हेरचाहको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन् । 

उनका अनुसार दुर्घटनापछि वडा अध्यक्ष थापा केही समय सम्पर्कमा आए पनि अहिले उपचार र आवश्यक सहयोगबाट टाढिएको उनको आरोप छ।

सहारा भनेकै छोरी मात्र

देविकाको जीवनमा दुर्घटना आउनुअघि पनि संघर्ष कम थिएन । उनी एकल महिला हुन् । घरको जिम्मेवारी, छोरीको भविष्य र आफ्नो उपचारको चिन्ता अहिले उनको काँधमा छ ।

उनले आफ्नो १३ वर्षीया छोरीको पढाइ र भविष्यप्रति सबैभन्दा ठूलो चिन्ता रहेको बताइन् ।

‘म एकल महिला हुँ। मेरो एउटा छोरी छिन् । आमा हुनुहुन्छ । मेरो खुट्टा चलेन भने परिवार कसरी चलाउने भन्ने चिन्ता छ,’ उनले भनिन् ।

उनका अनुसार दुर्घटनापछि उनी आर्थिक रूपमा समेत कमजोर बनेकी छन् । काम गरेर परिवार चलाउँदै आएकी उनी अहिले अरूको सहयोगमा निर्भर हुनुपरेको बताउँछिन् । 

‘म काम गरेर खाने मान्छे हुँ। मेरो शरीर नै काम गर्न नसक्ने भएपछि मेरो परिवारको अवस्था के हुन्छ, मेरो छोरीलाई कसरी पढाउने ?’ उनले प्रश्न गरिन् । 

देविकाले आफूले कुनै ठूलो रकमको माग नगरेको बताइन्। उनको मुख्य माग उपचार र दोषीमाथि कानुनी कारबाही रहेको छ।

उनका अनुसार दुर्घटनापछि मिलापत्रका लागि पाँच लाख रुपैयाँको प्रस्ताव आएको थियो। तर उनले उक्त रकम आफ्नो जीवनको क्षतिसँग तुलना गर्न नसकिने बताइन् । 

‘मेरो जिन्दगी पाँच लाख रुपैयाँ होइन। स्वास्थ्य राम्रो भयो भने आफैं कमाउन सक्छु। तर शरीर नै बिग्रियो भने त्यो पैसाले के गर्छ ?’ उनले भनिन् । 

उनले आफूलाई आवश्यक पर्ने उपचार सुनिश्चित हुनुपर्ने र भविष्यमा बाँच्न सक्ने आधार तयार गरिनुपर्ने माग राखेकी छन् । 

कानुन गरिब र धनीका लागि बराबर हुनुपर्छ

देविकाले आफूले प्रहरी प्रशासनदेखि विभिन्न निकायसम्म न्यायका लागि पुगे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरिन् ।

उनका अनुसार दुर्घटनापछि सुरुमा जाहेरी दर्ता गर्नसमेत समस्या भएको थियो। । उच्च अदालत मोरङ पुगेपछि अदालतको आदेशमार्फत मात्रै मुद्दा प्रक्रिया अघि बढेको उनको भनाइ छ । उनले कानुन सबैका लागि बराबर हुनुपर्ने बताइन्।

‘गरिब र धनीका लागि कानुन एउटै हुनुपर्छ। पैसा र पहुँच भएकाले न्याय पाउने र कमजोर मानिसले संघर्ष गर्नुपर्ने अवस्था हुनुहुँदैन,’ उनले भनिन् । 

देविकाका अनुसार गत चैत ३० गते दुई पक्षबीच छलफल भएर केही विषयमा सहमति भएको थियो । उक्त सहमतिमा उपचार खर्च, आगामी उपचार र छोरीको शिक्षाको विषय समेटिएको उनको भनाइ छ । तर सम्झौता कार्यान्वयन नभएको उनले आरोप लगाइन् । 

उनले भनिन्, ‘सम्झौतामा अहिलेसम्म लागेको बिल तिर्ने, वैशाख १० गतेसम्म अस्पताल लगेर पूर्ण उपचार गर्ने र छोरीलाई १२ कक्षासम्म पढाउने कुरा भएको थियो। तर त्यो कार्यान्वयन भएन।’

उनले आफूलाई सम्झौतामा हस्ताक्षर गराउनुअघि पीडितको रूपमा पर्याप्त जानकारी र सहमति लिनुपर्ने बताइन् । 

‘म नै पीडित हुँ, मेरो जीवनसँग सम्बन्धित विषयमा मेरो कुरा नसुनी निर्णय हुनुहुँदैन,’ उनले भनिन् । 

माइतीघरमा बसेकी देविकाले आफू राज्यसँग लड्न नभई राज्यबाट न्याय खोज्न आएको बताइन् । 

उनका अनुसार गृहमन्त्री सुधन गुरुङले आफूलाई न्याय दिलाउने आश्वासन दिएका छन्। त्यसैको भरोसामा आफू बसेको उनले बताइन् । 

‘म विरोध गर्न आएको होइन । म न्याय माग्न आएको हुँ। एउटा अपराधीलाई अनुसन्धान गरेर सत्य–असत्य छुट्याइदिनुपर्छ । राज्यले अपराधी र पीडित छुट्याउनुपर्छ,’ उनले भनिन् । 

उनले दोषीमाथि अनुसन्धान गरेर सत्य बाहिर ल्याउनुपर्ने माग गरिन्।

देविकाले आफू माइतीघरमा जीवन समाप्त गर्न नभई न्याय पाउन आएको बताइन्। शारीरिक पीडा, आर्थिक समस्या र मानसिक तनावबीच पनि न्यायको आशा नछाडेको उनको भनाइ छ ।

‘म मर्न आएको होइन । म न्याय माग्न आएको हुँ,’ उनले भनिन्। उनले आफ्नो जस्तो अवस्था अरू कसैको नहोस् भन्ने उद्देश्यले पनि आवाज उठाइरहेको बताइन्।

देविका अहिले उपचार, कानुनी प्रक्रिया र राज्यको निर्णयको प्रतीक्षामा छन्। दुर्घटनाले रोकिएको आफ्नो जीवन फेरि सामान्य बनाउने उनको चाहना छ ।

उनको माग एउटै छ– पूर्ण उपचार, निष्पक्ष अनुसन्धान र न्याय । यता, वडा अध्यक्ष सुमन थापाको पक्षबाट भने यस विषयमा आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

प्रकाशित मितिः मङ्गलबार, ३० असार २०८३
https://jawaaf.com/storage/01KXAQSFG26J42SF4JH5ZF01Z6.jpeg

कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

काठमाडौं । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ ।

सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पु¥याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ ।

७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो । अहिले उचित व्यवस्थापन गर्न सके यही क्षेत्रबाट ६ हजारदेखि ७ हजार अमेरिकी डलर वा त्यसभन्दा बढी आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको छ ।

अर्की किसान लिन सियाओवानले कमलका फूल बिक्री गरेर दैनिक १५० देखि ३०० अमेरिकी डलरसम्म आम्दानी हुने बताइन् । उत्पादन लागत कटाएपछि पनि दैनिक १०० देखि १३० अमेरिकी डलरसम्म बचत हुने उनको भनाइ छ ।

कमलको व्यवसाय केवल खेती र बिक्रीमा सीमित छैन । पर्यटकहरूले डुंगामा सयर गर्दै कमलबाट बनेका परिकार तथा पेय पदार्थको स्वाद लिनुका साथै कमल विषयवस्तुमा आधारित हस्तकलाका सामग्री र स्मरणिका खरिद गर्ने अवसर पनि पाउँछन् । यसले स्थानीय पर्यटन व्यवसायलाई समेत उल्लेखनीय रूपमा चलायमान बनाएको छ ।

नान्जिङबाट घुम्न पुगेकी एक पर्यटकले सुजाउको कमल संस्कृतिको अनुभव लिन आएको बताउँदै करिब ७ अमेरिकी डलरमा कमलको फूलको गुच्छा र १० अमेरिकी डलरमा दुईवटा पेय पदार्थ खरिद गरेको जानकारी दिइन् । उनका अनुसार कमलले भरिएको वातावरण गर्मीयामका लागि निकै आकर्षक र ताजगीपूर्ण अनुभव बनेको छ ।

स्थानीय तथ्यांकअनुसार कमल बजारबाट मात्रै दैनिक करिब ६० हजार अमेरिकी डलर बराबरको कारोबार हुने गरेको छ । सेप्टेम्बरसम्म सञ्चालन हुने यो मौसमी बजारले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । सीसीटीभी

प्रकाशित मितिः आइतबार, २८ असार २०८३
https://jawaaf.com/storage/01KWV1MM48QHR0506X5EK9BZ3M.jpg

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छिन् ।

शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित संरचनाको अवस्थाबारे स्थलगत निरीक्षण गरेकी हुन् ।

निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरिएको छ ।

गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरिने बताए । 

स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको उल्लेख गर्दै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त गराइने बताइन

उनले सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवाका लागि उपयोग हुनुपर्नेमा जोड दिइन । 

कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी,नेपाल क्षयरोग निवारण संस्था,गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ।

यसअघि शनिबार मन्त्री मेहताले कोशी अस्पतालको विस्तृत अनुगमन गर्दै अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गरेको थिइन् ।

साथै आकस्मिक कक्ष,वार्ड,प्रयोगशाला,फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गरी सरसफाइ,पूर्वाधार व्यवस्थापन,निर्माण कार्य समयमै सम्पन्न गर्न तथा अतिक्रमित संरचना हटाउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन् । 

प्रकाशित मितिः सोमबार, २२ असार २०८३
https://jawaaf.com/storage/01KWKB5YM14Y29QHQWPX737JQY.jfif

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। 

नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा.योगेन्द्रप्रसाद सिंह, डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। तीमध्येबाट डा.सिंह अध्यक्षमा नियुक्त भएका हुन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुनुहुन्छ। पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् । 

प्रकाशित मितिः शुक्रबार, १९ असार २०८३
https://jawaaf.com/storage/01KWBMMCMBZ583YEBV51XBN2Z0.jpeg

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले असार १६ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मध्यपुर थिमी नगरपालिका, भक्तपुरबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ८०.०१६० प्रतिशत भेटिएकाले उक्त नमुनालाई ‘विसर्जन गर्ने’ श्रेणीमा राखिएको हो ।

प्रतिवेदनअनुसार उक्त नमुना किसान सिता रेग्मीको उत्पादन रहेको र कालीमाटीमा परीक्षणका क्रममा खान अयोग्य ठहरिएपछि नष्ट गर्नुपर्ने निर्णय गरिएको छ । प्रयोगशालाले आज कुल १२ वटा तरकारीका नमुनामा विषादी परीक्षण गरेको थियो । परीक्षण गरिएका नमुनामा रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा लगायतका तरकारी समावेश थिए ।

परीक्षणमा बाँकी ११ वटा नमुना भने उपभोगका लागि सुरक्षित सीमा भित्र रहेको प्रयोगशालाले जनाएको छ । ती नमुनामा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा कम रहेकाले बजारमा बिक्री तथा उपभोगका लागि उपयुक्त ठहर गरिएको छ ।

प्रयोगशालाले विषादीको अवशेषका आधारमा तरकारीलाई तीन वर्गमा वर्गीकरण गर्ने गरेको छ । ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोग योग्य ( मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएमा केही दिन क्वारेन्टाइन ( मा राखेर पुनः परीक्षण गरिन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा भने त्यस्ता तरकारी विसर्जन गरी नष्ट गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १६ असार २०८३
https://jawaaf.com/storage/01KW8YRPK63EHKHE2MANJ8M5R8.jpeg

दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

काठमाडौं । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक ऊर्जा, पोषण र पाचन स्वास्थ्य कायम राख्न परम्परादेखि नै दही–चिउरा खाने चलन रहिआएको छ । 

दही–चिउरा केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक रूपमा पनि स्वास्थ्यका लागि लाभदायी भोजन भएको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् । 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले दहीले पेटको स्वास्थ्य र पाचन प्रणालीलाई सुदृढ बनाउने तथा चिउराले पर्याप्त ऊर्जा प्रदान गर्ने भएकाले यो परिकार असार १५ मा मात्र होइन, वर्षभरि पनि नियमित रूपमा खान सकिने स्वस्थकर नेपाली भोजन भएको बताइन् । 

उनले दही–चिउरा शरीरका लागि पोषिलो र सन्तुलित भोजन भएपनि यसलाई सबै रोगको औषधि वा चमत्कारी भोजनका रूपमा लिन नहुने स्पष्ट पारिन् । 

उनका अनुसार दहीले पेटको स्वास्थ्य सुधार्न, पाचन प्रणालीलाई सन्तुलित राख्न तथा शरीरमा आवश्यक लाभदायी जीवाणु (प्रोबायोटिक्स) उपलब्ध गराउन मद्दत गर्छ। यही कारणले नेपाली भोजन संस्कृतिमा परापूर्वकालदेखि दही र मोहीको विशेष स्थान रहँदै आएको छ।

उनले भनिन्,‘दही भनेको शरीरको स्वास्थ्यलाई राम्रो बनाउने खानेकुरा हो । यसले पेटको स्वास्थ्यलाई एकदम राम्रो बनाउँछ । त्यसैले पहिलेदेखि नै दही र मोही हाम्रो भोजनको अभिन्न अंग थिए ।’

डा.उप्रेतीका अनुसार असार महिनामा धान रोपाइँको कठिन श्रम गर्ने किसानका लागि दही–चिउरा उपयुक्त ऊर्जा दिने भोजन थियो । पहिले अहिलेजस्तो बजारमा सहज रूपमा खानेकुरा उपलब्ध नहुने भएकाले लामो समयसम्म नबिग्रिने चिउरा र दही खेतसम्म लैजान सजिलो हुने गर्दथ्यो । 

उनले भनिन्,‘चिउरा लामो समयसम्म बिग्रँदैन। यसमा पर्याप्त कार्बोहाइड्रेट, ऊर्जा, केही प्रोटिन र अन्य पोषक तत्व हुन्छन्। दहीसँग खाँदा यसले शरीरलाई आवश्यक ऊर्जा दिनुका साथै पाचन प्रणालीलाई पनि राम्रो बनाउँछ ।’

उनका अनुसार किसानहरूलाई गर्मीमा डिहाइड्रेसन हुन नदिन दही, मोही र चिउरा खाने चलन विकसित भएको हो। अहिले पनि यो परम्पराको वैज्ञानिक आधार रहेको उनको भनाइ छ ।

फलफूल मिसाएर खानु पनि राम्रो

अहिले दही–चिउरामा विभिन्न फलफूल मिसाएर खाने चलन बढ्दै गएको छ । यसबारे डा. उप्रेतीले स्वस्थकर खानेकुरासँग फलफूल मिसाएर खानु झन् लाभदायी हुने बताइन्।

‘पहिला फलफूल मिसाएर खाने चलन थिएन । अहिले स्वस्थकर खानेकुरासँग फलफूल वा अन्य परिकार मिसाएर खानु राम्रो कुरा हो,’ उनले भनिन् । 

तौल घटाउन सहयोग गर्छ, तर...

दही–चिउराले तौल घटाउँछ भन्ने धारणा आंशिक रूपमा सही भएको उनको भनाइ छ ।

उनले स्पष्ट पारिन्, ‘दही–चिउरा खाँदा थोरै खाए पनि पेट भरिएको महसुस हुन्छ र लामो समयसम्म भोक लाग्दैन । त्यसैले बढी खाने बानी कम हुन्छ । यही कारणले तौल नियन्त्रणमा सहयोग पुग्न सक्छ। तर दही–चिउरा खाएर फेरि अन्य धेरै क्यालोरीयुक्त खाना खाइयो भने तौल घट्दैन।’

तनाव हटाउने औषधि होइन

दही–चिउराले तनाव र चिन्ता हटाउँछ भन्ने दाबीलाई उनले वैज्ञानिक रूपमा पुष्टि नभएको बताइन्।

‘कुनै पनि स्वस्थकर खानेकुराले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर दही–चिउरा खाँदैमा तनाव वा चिन्ता हट्छ भन्ने होइन । मानसिक स्वास्थ्य राम्रो हुन जीवनशैली, नियमित आहार, पर्याप्त निद्रा र अन्य बानीहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन्,’ उनले भनिन्।

वर्षभरि खानुपर्ने सल्लाह

डा. उप्रेतीले दही–चिउरा असार १५ मा मात्र नभई वर्षभरि नियमित रूपमा खान सुझाव दिइन् । 

उनले विशेष गरी बालबालिकालाई जंकफुडभन्दा नेपाली परम्परागत पौष्टिक भोजन खुवाउनुपर्नेमा जोड दिँदै भनिन्, ‘दही–चिउरा असार १५ गते मात्रै खाने होइन । हप्तामा एक–दुई पटक पनि खान सकिन्छ । बालबालिकालाई चाउचाउ, बिस्कुट वा जंकफुडभन्दा यस्ता परम्परागत स्वस्थकर खानेकुरा दिनुपर्छ । यसले उनीहरूलाई सानैदेखि राम्रो भोजन संस्कृति र स्वस्थ जीवनशैली सिकाउँछ ।’

उनले सबै नेपालीलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्वको शुभकामना दिँदै स्वस्थकर परम्परागत भोजनलाई दैनिक जीवनमा पनि अपनाउन आग्रह गरिन्।

प्रकाशित मितिः सोमबार, १५ असार २०८३
https://jawaaf.com/storage/01KSYXMM9C3ZT7GKAP36AHM0S6.jpg

रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, प्रतिकेजी २४० सम्ममा बिक्री

रौतहट । मौसम नसकिँदै रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ ।
सदरमुकाम गौर, गरुडा, कटहरिया र चन्द्रपुर (चन्द्रनिगाहपुर) का मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (कैल्सियम कार्बाइड) रसायन प्रयोग गरिएका आँप छ्यापछ्याप्ती भेटिएका हुन् ।
नेपालमा प्राकृतिक रूपमा आँप पाक्ने समय असार महिना भएपनि व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले जेठ महिनामै कृत्रिम रूपमा पकाइएका पहेँला आँप बजारमा सजाएर राखेका छन्।
स्थानीय उपभोक्ताका अनुसार यस्ता अस्वस्थकर आँप बजारमा प्रति किलो २ सय रुपैयाँदेखि २ सय ४० रुपैयाँसम्ममा उच्च मूल्यमा बिक्री भइरहेको छ ।
बजारमा जनस्वास्थ्यमाथि यसरी गम्भीर खेलबाड भइरहँदा पनि नियमनकारी निकाय भने मौन बसेको चन्द्रपुरका स्थानीय दिपेन्द्र मिश्रको आरोप छ ।
उपभोक्ताहरूको हकहित संरक्षणका लागि भन्दै गठन गरिएको उपभोक्ता संरक्षण मञ्च र स्थानीय पालिकाका बजार अनुगमन टोलीहरू बजारमा देखिएको यो बेथितिप्रति पूर्ण रूपमा उदासीन बनेका छन् ।
उनी भन्छन्, ‘बजारमा विष जस्तो आँप बिक्री भइरहेको सबैलाई थाहा छ, तर पालिकाको अनुगमन टोली र प्रशासनले ध्यान दिएको छैन । अहिले उपभोक्ताहरू चर्को मूल्य तिरेर बिरामी पार्ने फलफूल किन्न बाध्य छन्।’
नेपाली बजारमा अझै स्थानीय आँप पाकिसकेका छैनन् । बजारमा उपलब्ध अधिकांश आँप सीमावर्ती भारतीय बजारबाट सस्तो मूल्यमा कच्चा अवस्थामै आयात गरिएका हुन् ।
भारतीय भन्सार नाकाहरूबाट कच्चा आँप भित्र्याएर स्थानीय गोदाम र घुम्ती पसलहरूमा कार्बाइडको प्रयोग गरी एकै रातमा पहेंलो र आकर्षक बनाइने गरेको जानकारहरू बताउँछन्।
कृत्रिम रूपमा कार्बाइड हालेर पकाइएको आँप सेवन गर्नु स्वास्थ्यका लागि निकै घातक हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
बजारमा मौलाएको यो कालोबजारी र जनस्वास्थ्यमाथिको खेलबाड रोक्न जिल्ला प्रशासन कार्यालय रौतहटले गौर, गरुडा, कटहरिया र चन्द्रपुर नगरपालिकाले संयुक्त रूपमा तत्काल आकस्मिक बजार अनुगमन सुरु गर्नुपर्ने माग उठिरहेको छ।

प्रकाशित मितिः आइतबार, १७ जेठ २०८३
https://jawaaf.com/storage/01KSVXCYDX9F9TZ377ATYQZKY8.jpg

प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ‘अस्पताल भर्ना भएका छन् । हल्का निमोनियाको संकेत देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

नेपाल न्यूज बैंकलाई जानकारी दिँदै उनले भने, ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो । आज थप जाँच गर्दा हल्का निमोनिया देखिएपछि आज ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।’

निमोनियाको उपचार अस्पताल नै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उनले बताए ।

प्रकाशित मितिः शनिबार, १६ जेठ २०८३
https://jawaaf.com/storage/01KRSXF5GYFPK24QSNRAA6KTX2.jpg

विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।
यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ ।

यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

प्रकाशित मितिः आइतबार, ०३ जेठ २०८३
https://jawaaf.com/storage/01KQV2PEZCDYV06VK210PBCAJF.jpg

युवाहरूको पहलमा धरान–१७ मा सामुदायिक कुकुरलाई रेबिज खोप

धरान, सुनसरी । धरान उप–महानगरपालिका वडा नम्बर १७ का युवाहरूले सामुदायिक कुकुरहरूलाई लक्षित गर्दै रेबिज विरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेका छन्। बैशाख १ गतेदेखि सुरु गरिएको उक्त अभियान “रेबिज मुक्त वडा” बनाउने उद्देश्यका साथ निरन्तर अघि बढिरहेको छ।

युवा अभियन्ता तथा समाजसेवी शिखर राईका अनुसार वडा भित्र रहेका सामुदायिक कुकुरहरूलाई सुरक्षित बनाउँदै मानव स्वास्थ्यमा समेत जोखिम कम गर्ने लक्ष्य राखिएको छ। अभियानमा वडा नम्बर १७ का युवाहरूको सक्रिय सहभागिता रहेको छ भने आवश्यक आर्थिक स्रोत इच्छुक दाताहरू र युवाहरू आफैंले संकलन गरेका हुन्।

अर्का युवा अभियन्ता सुरज कामतले हालसम्म २८३ सामुदायिक कुकुरलाई रेबिज खोप लगाइसकिएको जानकारी दिए। अझै पहिचान हुन बाँकी कुकुरहरूलाई समेत खोप दिने कार्य निरन्तर जारी रहने उनले बताए।

प्राविधिक सहयोग मनोज श्रेष्ठ र अविषेक श्रेष्ठ (अर्जुन) लगायतले प्रदान गरिरहेका छन्। अभियानले समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै रेबिज नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः मङ्गलबार, २२ वैशाख २०८३