आइतबार, २४ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १२ असोज २०८१

उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना

https://jawaaf.com/storage/01J8W6C89N55S5V4KY7SARKPCP.jpg

ADVERTISEMENT

सिन्धुली, १२ असोज : सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फसेका छन् । गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन् ।     
      
सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोशी र रोशी नदीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको उहाँले उल्लेख गर्नुभयो । “अहिले हामी गुरुकूलको माथिल्लो तलामा छौँ । कतैबाट उद्धारको पहल भएको छैन”, उहाँले भन्नुभयो ।     
      
विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरी उद्धारको प्रयास भए पनि अहिलेसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो । “हामी उहाँहरुको उद्धारका लागि प्रयास गरिरहेका छौँ । गएराति पर्ख र हेर भन्ने बाहेक कुनै विकल्पले काम गरेन”, उहाँले भन्नुभयो ।     
      
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाडीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी शुक्रबारदेखि पहल गरिरहेको जानकारी दिनुभयो ।     
      
“यहाँबाट उद्धारमा खटिएको टोलीले उहाँहरुको अहिलेसम्म उद्धार गर्न नसरहेको छैन । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर झिकाउने पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले मौसम प्रतिकूल भएकाले हेलिकप्टर पनि आउन सकेको छैन । मौसम अनुकूल हुने वित्तिकै हेलिकप्टर उडानमार्फत उद्धार हुन्छ ।”     
      
रोशी र सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका–५ मुल्कोट, रगोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार डुबानमा परेका छन् । साथै दुम्जाका पाँच घर बगाएको छ । दुम्जा र नेपालथोक बीचमा एक सय मिटर बिपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि आवतजावत बन्द भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।     
      
सुनकोशी, कमला र बागमती नदीले खतराको तह पार गरेका छन् । अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।


ADVERTISEMENT

सम्बन्धित खबर

/frontend/images/redline.png