कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने
१५ वैशाख, पाटन (ललितपुर) I कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि काल्चे देखि बगुवाखण्ड सम्म चैत १ गते देखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजे सम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ । मर्मतको काम जारी छ । अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ”, आगामी जेठ १५ गतेसम्म बाटो तीन घण्टा सम्म खुल्ने जानकारी दिँदै कान्तिलोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले भन्नुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो । बैठकले उक्त सडकमा छ चक्के र त्यस भन्दा बढी पाङ्ग्रा भएका मालबाहक सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ ।
“यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर चौडा गर्न लागिएको हो । सडक माथिका चट्टान काट्न बाँकी रहकोले उक्त निर्णय भएको हो ।”, इन्जिनियर महर्जनले भन्नुभयो ।
यो सडक ६७ वर्षदे खि निर्माणाधीन छ । हेटौँडाको बुद्धचोक देखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो सडक विस्तारको जिम्मा बुद्धचोक देखि–टीकाभैरव सम्मको ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छ भने बाँकी भाग सडक डिभिजन कार्यालयले बनाउने छ । टीकाभैरव देखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो–सुनाकोठी खण्ड चौडा हुन सकेको छैन ।
सम्बन्धित खबर