बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १५ वैशाख २०८१

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

https://jawaaf.com/storage/01HWFR5JXN7JAVWVKX7WRWFQ9S.jpg

१५ वैशाख, फिक्कल (इलाम) I  इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिनुभयो ।

अहिले मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझ देखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताउनुभयो ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमति पछि मतगणना प्रारम्भ गरिनेछ । । “राति १० बजे भित्र मतपेटिका सङ्कलन गरिसक्ने योजना बनाएका छौँ, मतपेटिका सङ्कलन गरिसके पछि सर्वपक्षीय बैठक बस्छौँ”, उहाँले भन्नुभयो, “सो बैठकमा सहमति भएमा तत्काल मतगणना पनि सुरु गर्नेछौँ ।” मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटीहल)मा हुनेछ ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गर्नुभएको थियो । एमाले र कांग्रेस जस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।

किरियापुत्रीले गरे मतदान

यसैबीच इलाम–२ प्रतिनिसभा सदस्य उपनिर्वाचनमा एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् । आमाको किरिया बसेका इलाम नगरपालिका–६ का रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । मतदान गर्न पाउने अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा पुगेर मतदान गरेको खड्काले प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित खबर

/frontend/images/redline.png