विमल कृति पुरस्कार थामसुहाङको निबन्धलाई
धरान । विमल कृति पुरस्कार २०८० इलामका कवि प्रकाश थामसुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि बिमल गुरुङ्गको ५३ औ वार्षिक जन्म जयन्तीको अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु.२ लाख राशि स्वरूप शब्दथुमलाई विमल कृति पुरस्कार प्रदान गरिएको हो ।
धरान उपमहानगरपालिका १८ स्थित पुस्तकालयको हलमा शनिवार सम्पन्न ३३ औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजीत कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्व विधालय नेपालका उपकुलपति प्रा.डा. भिम खतिवडा र कवि पुस्तकालयका संचालक पूर्ण बहादुर गुरुङले पुरस्कार प्रदान गर्नु भएको हो ।
कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकहरूबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएका मध्येबाट निर्णायक समितिको सिफारिस अनुसार कवि साहित्यकार थामसुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिनुभयो ।
सोही अवसरमा युवा कवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा स्वरूप रु. १०हजार पुरस्कार प्रदान गरिएको पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताउनुभयो ।
त्यस्तै १०३ वर्षीय ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु.५ हजार सहित सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै सिक्किमका लेखक टिबि चन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगद सहित सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविबाट प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनौट गरिएको थियो जसमा उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो ।
कविता प्रतियोगितामा प्रथम नवलपरासीको प्रदीप ढुङगाना प्रथम हुनुभएको छ । उहाँले “सपना” शीर्षकको कविता वाचन गर्नुभई प्रथम हुनुभएको हो । यसैगरी हाल बेलायत बसोबास गर्ने शान्ति लिम्बुको “थेम्स नदीको किनारै किनार” दोस्रो र मोरङकी समिक्षा छिलिङ राईको “फूल र म” कविता तेस्रो हुनुभएको छ । उहाँहरूलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा. भिम खतिवडा, र कवि पुस्तकालयका सञ्चालक समिति अध्यक्ष पूण बहादुर गुरुङले क्रमशः नगद रु.२१ हजार, १८ हजार, १७ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
८१ कविताहरू प्राप्त भएकोमा उत्कृष्ट १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो । प्रतियोगितामा समिक्षा छिलिङ राईको फूल र म, दिपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बुढो परदेशी, प्रसान्त उप्रेतीको विलासी राता बाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैँचाको अर्गानिक मुस्कान र दिपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० छनोट भएको थियो ।
सम्बन्धित खबर






