रास्वपाले भन्यो – ‘जनसमर्थन र प्रभाव बढेपछि रवि लामिछानेलाई पक्राउ गरिएको हो ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनसमर्थन र प्रभाव बढेपछि सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएको बताएको छ । शनिवार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको निष्कर्ष निकालिएको कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारीबाट ऋण लिने प्रक्रियामा लामिछानेको संलग्नता नरहेको उल्लेख भए पनि सत्ता गठबन्धनले राजनीतिक रूपमा निषेध गर्न लामिछानेलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सभापति रवि लामिछाने विरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भत्सर्ना गर्दछ । यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढदो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याई छ ।
साथै रास्वपाले संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भएतापनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउ पछि वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न हो भन्ने कुरा प्रस्ट देखिन्छ । कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि सङ्घर्ष गरेका दलहरू आज नविन विचार र आवाजलाई दबाउन उद्धत छन ।
राज्यको यस्तो स्वेच्छाचारी, दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत छ । रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह समेत गर्दछ । तसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरूमा केन्द्रित रही सञ्चालन गर्न गईरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत गर्दछ ।
मिति २०८० माघमा राष्ट्रिय स्वतन्त्र पार्टीले तयार पारी सम्माननीय प्रधानमन्त्रीलाई समेत बुझाएको सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधान नीतिगत योजना र समाधानका उपायहरूलाई आधार मान्दै सहकारी, लघु वित्त एवं मिटरब्याज पीडितहरूको सरोकार सम्बन्धी तृणमूल अभियानलाई गति दिन एक महिना भित्र रास्वपाका सम्बन्धित पालिकाका संरचनाहरूमा सहकारी नियमनको आवश्यकता एकिन गरी कार्यक्रम बनाएर पीडितहरूको समस्या अनुसार बचत रकम फिर्ता गराउन दवावमूलक कार्यक्रमको अगुवाइ गर्ने ।
आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएका स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैल्याउने अभियान सञ्चालन गर्ने । ’
त्यसैगरी बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि मुलुकमा विद्यमान राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आम जनतालाई जागृत बनाउने गरी अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उजुरी परेपछि २ कात्तिकमा लामिछाने पक्राउ परेका छन् । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर







