जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिवार जलवायु अभियन्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा उनीहरूले अन्यायपूर्ण ऋण खारेज गर,जलवायु वित्त भुक्तानी गर लगायत प्लेकार्डहरू प्रदर्शन गरेका थिए । याल्ली भृकुटीमण्डप देखी शान्तिबाटिका हुँदै रत्नपार्क क्षेत्रमा पुगेको थियो ।
विश्वका दक्षिणी देशहरू पहिले नै ऋणको बोझले ग्रस्त रहेकाले जलवायु वित्त ऋणका रूपमा नभई अनुदानका रूपमा आउनुपर्ने, तत्काल आवश्यक जलवायु कार्यका आवश्यकता सम्बोधन गर्न जलवायु वित्त पर्याप्त र समयमा आउनुपर्ने अभियानको माग छ ।
त्यस्तै जलवायु वित्तले अनुकूलन, न्यूनीकरण, हानि–नोक्सानी र प्रभावित समुदायको न्यायोचित रूपान्तरणलाई समेट्नुपर्ने र कोषहरूको वितरण पारदर्शी, उत्तरदायी तथा विश्वका दक्षिणी देशहरूको प्राथमिकता अनुरूप हुनुपर्ने माग रहेका छन् ।
विश्वका औद्योगिक विकसित देशका झुटा वाचाले विश्वव्यापी दक्षिणी समुदाय, अर्थव्यवस्था तथा पर्यावरणमा सहनशीलता अझै कमजोर बनाएको र भोग्नुपरेका घोर असमानता र अन्याय अझ गहिरो बनाएको अभियन्ताको भनाइ छ । खनिज इन्धनमुखी राष्ट्रहरूले जलवायु संकट निम्त्याउन ऐतिहासिक जिम्मेवारी स्वीकार गरी अघि बढ्नुपर्ने बताइएको छ ।
आगामी मंसिरमा अजरबाइजनको वाकु शहरमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप२९) मा तत्काल जलवायु कार्यको बढ्दो लागत सम्बोधन गर्न महत्वपूर्ण निर्णय हुने भएकाले त्यसमा प्रभावकारी दबाब दिन पनि अभियानको आवश्यकता रहेको आयोजकको भनाइ छ ।
सम्बन्धित खबर






