प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको निर्णय समर्थन गर्ने : जसपा
धरान I जनता समाजवादी पार्टी किराँत राष्ट्रिय समितिले प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको निर्णय समर्थन गर्ने भएको छ । जसपा किराँत राष्ट्रिय समितिको आज धरानमा रमेश राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै आफ्नो मातहतको सम्पूर्ण समिति नेता, पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक, समर्थक तथा प्रदेशवासीहरूलाई प्रदेश नं. १ को नाम पहिचानको आधारमा नामाकरण गराउन भौतिक उपस्थितिको लागि जसपा किरात राष्ट्रिय समितिले हार्दिक अपिल गरेको छ ।
२०७९ फागुन १७ गते प्रदेश सभाको बसेको बैठकले ‘कोशी प्रदेश’ नामकरण गरेको थियो । उक्त नामकरण पहिचानको आधारमा नभएकोले पहिचानमा आधारित नाम हुनुपर्ने माग गर्दै ४२ घटक समूहका पहिचान पक्षधर संघ-संस्था तथा राजनीतिक दलको सहभागितामा प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको गठन भएको थियो ।
उक्त संयुक्त सङ्घर्ष समितिको बैठक २०८१ असार १ गते बसेको बैठकले भोलि मंसिर २ गते देखी कोशी प्रदेशको नाम खारेजीगरी पहिचानको आधारमा पुनः नामाकरण गर्ने माग राखी आन्दोलन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई जसपा किरात राष्ट्रिय समितिले पूर्ण समर्थन गर्ने निर्णय गरेको हो।
सम्बन्धित खबर




