समय नपुगी कर्मचारीलाई सरुवा गरेको भन्दै सहरी विकास मन्त्रालयको गेट अगाडि धर्ना
काठमाडौँ । स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले मङ्सिर १७ गते देखि सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छ ।
उनले सहरी विकास मन्त्रालयले समय नपुगी कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै मङ्सिर १७ गते देखि आज सम्म निरन्तर रूपमा दिनको ४ घण्टा धर्ना बस्ने गरेको छ ।
उनले भने, ‘मङ्सिर १७ गतेदेखि दिनको ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु । सहरी विकास मन्त्रालयले समय नपुगीकन कर्मचारीलाई सरुवा गर्ने काम गर्छ । डिजि देखि आयोजना प्रमुखहरू फेरेर विकासको काम गर्नुपर्ने ठाउँमा कर्मचारीलाई उथलपुथल तलमाथि पारेर लेनदेनको काम गरेर कर्मचारीको सरुवा गर्ने काम गर्छ ।’
निश्चित मापदण्ड बनाएर सरुवा गर्ने काम गर्नुपर्ने भन्दै ऐन नियम विपरीत गरिएका, सरुवाहरू बदर गर्नुपर्ने पनि उनको माग रहेको छ ।
उनले भने, ‘यसलाई निश्चित मापदण्ड बनाएर सहरी विकास मन्त्रालयले यस्ता काम गर्नुपर्छ भनेर यहाँ बसेको छु । कर्मचारीहरूलाई राम्रो तरिकाले काम गर्न दिनुपर्छ । ऐन नियम विपरीत गरिएका, अवधि नपुगी गरेका सरुवाहरू बदर गर्नुपर्छ ।’
यसको साथै, उनले विकास गर्ने मन्त्रालय विकासको बाटो छोडेर हानेको भन्दै सुशासनको लागि धर्ना बसेको पनि बताए ।
उनले भने, ‘सहरी विकास मन्त्रालय भनेको एउटा विकास गर्ने मन्त्रालय हो । विकासको बाटो कोर्नुपर्ने ठाउँमा कर्मचारीको सरुवा तिर लागि रहेको छ । यस कारण सुशासनको लागि म यसरी धर्ना बसेको छु । यो काम पूरा नभएसम्म निरन्तर रूपमा लाग्ने छु ।’
सम्बन्धित खबर


