कांग्रेसको कोशी भेला विराटनगरमा सुरु, डा.शेखर कोइराला अनुपस्थित
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय पहिलो सम्मेलन आज (शनिवार) विराटनगरमा सुरु भएकोछ । भेलाको उद्घाटन सभापति शेर बहादुर देउवाले गरेकाछन् । उद्घाटनका लागि देउवा शुक्रवार साँझ नै विराटनगर उत्रिसकेका छन् ।
भेलाको उद्घाटन बिहान ११ बजे विराटनगरस्थित मनासलु पार्टी प्यालेसमा सुरु भएको हो । भेलामा सहभागीहरू विराटनगर आइसकेका छन् । देउवाले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरू विराटनगर पुगिसकेका छन् ।
विधानसम्मत प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएपनि पार्टीले पहिलो पटक सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि १४ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
भेलामा प्रदेशभरका महासमिति सदस्य २८६ जना, महाधिवेशन प्रतिनिधि ३९२ जना, प्रदेश अधिवेशन प्रतिनिधि ८९६ जना, पार्टी प्रदेश कमिटीका १२१ जना कार्य समिति, १४ वटै जिल्ला सभापति, २८ जना क्षेत्रीय सभापति, प्रदेश सभापति ५६ जना र भातृ तथा शुभेच्छुक संघ-संस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।
भेलालाई उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, लगायतले सम्बोधन गर्ने तयारी छ । संस्थापनइतर पक्षका नेता डा.शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलनमा सहभागि नहुने जनाएका छन् ।
कोइराला शनिवार चितवन जाँदैछन् । चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुने उनको सचिवालयले जनाएको छ । वरीयता विवाद भएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएका्े उनीनिकट स्रोतले जानकारी दिएको छ ।
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् ।
मंसिर १८ गते डा.कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला पक्षले जनाएको छ ।
सम्बन्धित खबर



