हालको सरकारप्रति जनता सन्तुष्ट छैनन् : डा.डिला संग्रौला
बुटवल । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो ।
काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अलमलिएको बताइन। काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजबुत बनाउँन, जनतासँग नेताहरू पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिई क्रियाशील वितरण पनि अगाडि बढाएको बताइन् ।
क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताइन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि काँग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाले बताइन् ।
पूर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन ।
यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउँवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन् ।
संविधान संशोधनमा महिलाको अधिकार प्राप्तिका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउँनेगरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउँनुपर्नेमा जोड दिइन् ।
कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर




