विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले गरेको निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो । बैठकले वैचारिक, राजनीतिक, आर्थिक, सङ्गठनात्मक, सांस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं दूरगामी महत्वका निर्णयहरू गरेको छ ।
राजनीतिक कार्यहरूबारे निम्न निर्णयहरू गरिएका छन् :
क) नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका १० वर्ष भित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने छ ।
ख) देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतङ्क लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, ज.व.स. मोर्चाका नेता, सामना सांस्कृतिक परिवार सहितको टोली सहभागी बन्ने छ ।
ग) क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ ।
घ) पार्टीका विचार र प्रस्तावहरूलाई स्पष्ट गर्न देशव्यापी रूपमा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने छन् ।
ङ) आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने छ ।
च) समाजवादी संघीयताको विचार एवं जनताको आन्दोलनको मर्म अनुसार हाल राज्यले कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किराँत लिम्बुवान प्रदेश नामाकरण गर्ने, त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरूसँग छलफल बढाउने निर्णय लिइएको छ ।
संघर्षका सन्दर्भमा निम्न निर्णय लिइएका छन् :
क) देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेप विरुद्ध भन्डाफोर चलाउने,
ख) भ्रष्टाचार, कमिसनखोर, मिटरव्याज, बैँक व्याजआतंक विरुद्ध जनसङ्घर्ष सञ्चालन गर्ने,
ग) सुकुमवासी, गरिब किसान, महिला, श्रमिक समुदाय विरुद्ध भइरहेका उत्पीडन, दमन, अत्याचार विरुद्ध केन्द्र र स्थानीय तहबाट संघर्षहरू सञ्चालन गर्ने,
घ) युवा पलायनता रोक्न जागरण अभियान चलाउने, राज्यको दलाली प्रवृत्तिको भन्डाफोर गर्ने,
ङ) जाजरकोट भूकम्प पीडित जनतालाई दोस्रो किस्ता रकम उपलब्ध गराउन पहल गर्ने।
आर्थिक कार्यबारे निम्न निर्णय गरिएका छन् :
क) पार्टीलाई मात्र होइन देशलाई नै आत्मनिर्भरतासहित समृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने,
ख) कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अगाडि बढाउने,
ग) उत्पादन कार्यमा सहयोग गर्ने जनता र व्यवसायी मित्रहरूलाई धन्यवाद दिइयो साथै व्यवसायी साथिहरूसँग भइरहेको सहकार्यलाई विस्तार गर्दै उत्पादनलाई वृद्धि गर्न पहल गर्ने,
घ) यो योजनाभित्र उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने ।
सांस्कृतिक कार्यबारे निम्न निर्णयहरू गरिएका छन् :
क) सामना सांस्कृतिक परिवारले माघमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने,
ख) मेची–महाकाली अभियानमा सामना सांस्कृतिक परिवार सहभागी बन्ने,
ग) विभिन्न साहित्यिक कार्यक्रम चलाउने,
घ) नेपाली जनसंस्कृति एवं प्रगतिशील संस्कृतिको संरक्षण एवं विकास गर्न जनसंस्कृति संरक्षण मंच निर्माण गर्ने,
ङ) महान् जनयुद्ध दिवस, सहिद सप्ताह, महिला दिवस, अनेकोट प्रतिरोध दिवस, अन्तर्राष्ट्रिय मजुर दिवस, विद्यार्थी दिवस लगायतका पर्वहरू भव्यतापुर्वक सम्पन्न गर्ने,
च) प्रगतिशील सांस्कृतिक आन्दोलन चलाउन सँगीत अभियान यात्रा सहितका कार्यक्रमलाई सहयोग गर्ने ।
छ) पार्टीका प्रकाशनलाई सुव्यवस्थितरुपले नियमित प्रकाशन गर्ने निर्णय लिइएको छ ।
ज) केन्द्रीय कार्यालय, कम्युन र देशभरी चलीरहेका निर्माण कार्यलाई निरन्तर सञ्चालन गर्ने निर्णय लिइएको छ ।
सम्बन्धित खबर



