मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आइतवार साँझ मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छिमाया रुम्बाको मृत्यु भएको थियो भने आइतवार राति नै सोही स्थानका सूर्यबहादुर मोक्तानको गोठमा रहेको ७ वटा बाख्रालाई समेत आक्रमण गरेर मारेको थियो।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको मनहरीमा बाघको आक्रमण बढेपछि निकुञ्जका टोली बाघ नियन्त्रणमा जुटेको थियो। बाघले मारेको बाख्राको पासो थापेर निकुञ्जका डार्ट टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।
बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जका ४ वटा हात्ती प्रयोग गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन् । उनका अनुसार उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणमा लगिएको छ।
सम्बन्धित खबर
