बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, १९ वैशाख २०८१

कृषि मजदुरका समस्या समाधानका लागि आग्रह

https://jawaaf.com/storage/01HWSDMZA4DB8EAFWQE4N4C4A8.jpg

१९ वैशाख, जनकपुर I दासप्रथाको अवशेषका रूपमा रहेका हरवाचरवा लगायत प्रथा अन्त्य र कृषि मजदुरका समस्या समाधानका लागि यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सरकारसँग आग्रह गरेका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्क नेपाल  (आरडिएन) ले सबै प्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, कम्लहरी, हलिया तथा कमैयाको पूर्ण पुनर्स्थापनाका लागि सङ्कल्प गर्न सरकारलाई आग्रह गरेका हुन् । “नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ (शोषणविरुद्धको हक) र ४० (दलित हक) विपरित अहिले पनि पश्चिम नेपालका मुक्त कमैया, कम्लहरी तथा हलियाहरूको पुनर्स्थापनाका काम अझै पूरा हुनसकेका छैनन । त्यसैले सरकारले गठन गरेको मुक्त कमैया, कम्लहरी, हलिया तथा हरवाचरवा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न र पुनर्स्थापना सम्बन्धी कार्यविधि पारित गरी तत्काल पुनर्स्थापनाका बाँकी काम अगाडि बढाउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, मधेश प्रदेशका आठ जिल्लामा विद्यमान हरवाचरवा प्रथा मुक्तिको घोषणा गरिए पनि पुनर्स्थापनाका लागि प्रारम्भिक काम समेत अगाडि बढ्न नसकेकामा सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ ।  “कृषि तथा सेवा लगायत श्रमका विभिन्न क्षेत्रमा श्रम र सीप लगानी गरी मधेश प्रदेशको समृद्धिमा योगदान गरिरहेका एक लाख भन्दा बढी हरवाचरवा परिवारको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण तथा वैज्ञानिक वर्गीकरण सहित पुनर्स्थापनाका काम अघि बढाउन माग गर्दछौँ । कृषि मजदुरको अवस्था बदल्नका लागि मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन श्रमिक दिवसले सबैलाई प्रेरणा प्रदान गरोस्”, अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डल र आरडिएनका अध्यक्ष मोहन ओडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png