सात सय वर्ष अघिको पुरातात्त्विक संरचना फेला
रौतहट । धार्मिक तथा ऐतिहासिक महत्व वोकेको बानेश्वर महादेव स्थल वरपर उत्खनन गर्दा पुरातात्त्विक संरचना फेला परेको छ । गौर नगरपालिका वडा नं. २ मा रहेको मन्दिर वरपरको क्षेत्रमा करिब सात सय वर्ष अघिको भग्नावशेष संरचना भेटिएको हो । बानेश्वर महादेव मन्दीरको पछाडी र अगाडी तर्फको भागमा उत्खनन गर्दा सिम्रौनगढ राजाको समयका इटाहरू फेला परेको पुरातात्त्विक विद देवेन्द्र तिवारीले बताए ।
उनका अनुसार सोही समयका गाग्री, घोडाको मुकुट सहितका सामानहरू पनि भेटिएको छ । चार फिट तल उत्खनन गर्दा २८ सेन्टिमिटर लम्बाइ, ३० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको इटा फेला परेको उनले जानकारी दिए । यो इटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका भएको उनको दावी छ । पुरातात्त्विक विभागको प्रयासमा उत्खनन थालेको दोस्रो सातामा ऐतिहासिक महत्वका भग्नावेशहरू भेटिएको हो ।
गौरमा रहेको बानेश्वर शिवालय र सोवर्णामाई मन्दीर धेरै वर्ष पुरानो मानिन्छ । यो राजा शिव सिंहले बेलामा बनाएको बताइन्छ राजा शिव सिंह तत्कालीन तिरहुत राज्यको राजा थिए उनि सिम्रौनगढबाट शासन व्यवस्था चलाउथे राजा शिव सिंहको शासन १३३५ ई सम्म चलेको इतिहास रहेकोले सो मन्दिर त्यस पूर्व नै बनाइएको जानकारहरू बताउछन । लाल बकिया नदि भन्दा करिब ५ सय मिटर पूर्वमा रहेको सो मन्दिर निकै नै पुरानो र ऐतिहासिक मानिन्छ यहाँ उत्खनन गर्दा केही पुरानो भग्नावेशहरू भेटिने अपेक्षा अनुसार पुरातात्त्विक विभागमा खबर गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।
पुरातात्त्विक विद्हरूको रोहबरमा निरीक्षण गरेर गएपछि तिन सदस्यीय टोली यहाँ उत्खनन थालेको उनको भनाई छ । उनका अनुसार उत्खनन कार्य जारी रहेकाले अझै पुराना संरचना भेटिन्छ ।
अर्को प्रसँगमा १९९० सालको भूकम्पको समयमा प्राय इनारहरूबाट बालुवा र कोइला निस्केको थियो तर उक्त इनारको पानी भूकम्प पछि पनि पिउने लायक नै रहेकाले सोही इनारबाट हालका महादेवपट्टिका स्थानीयहरूले पानी ल्याई खाएको जनविश्वास रहेको बताइन्छ I धार्मिक पर्यटनका क्षेत्रमा यस उत्खननले धेरै टेवा पुग्ने गौर नगरपालिकाले विश्वास लिएको छ ।
सम्बन्धित खबर


