राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरुले गरे देउवा र निधिको पुत्ला दहन
जनकपुर । राजर्षि जनक विश्वविद्यालय केन्द्रीय क्याम्पस जनकपुरधामका विद्यार्थीहरूले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले आयोजन गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टिमको नाम समावेश गरेपनि अन्तिम समयमा हटाएको भन्दै आइतवार जनकपुरधामको रामानन्द चोकमा विद्यार्थीहरूले पूर्वप्रधानमन्त्री देउवा र काँग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरूले नेवि संघ विरुद्ध नाराबाजी गर्दै नेता देउवा र निधिको पुत्ला दहन गरेका छन् ।
आयोजकले सुरुमा राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाए पनि पछिल्लो समयमा नाम हटाएपछि विद्यार्थीहरू आन्दोलित भएको विद्यार्थी नेता श्याम साहले बताए ।
शनिवार बिहान सम्म खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहेपनि अन्तिम समयमा नाम हटाएको आरोप उनीहरूले लगाएका छन् । नेपाल विद्यार्थी संघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गर्नुका साथै खेल सामग्री समेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिकाबाट नाम हटाएपछि नेविसंघविरुद्ध आन्दोलन गर्नु परेको विद्यार्थी नेता साहले बताए ।
सोमवार देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी रहेका छन् ।
सम्बन्धित खबर


