सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
आकांक्षा धामी
आकांक्षा धामी
प्रकाशित मितिः शनिबार, १९ माघ २०८१

प्रधानमन्त्री ओलीका हप्ता दिन : रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

https://jawaaf.com/storage/01JK0QGMDW77Q08AGW7FZE1SAY.avif

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरूमा आफू अस्वास्थ्य भएका कारण कार्यक्रममा जान तँछाडमछाड गरेनन् । दैनिकजसो कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त हुने ओली यो हप्ता भने  आफ्नै स्वास्थ्यलाई निको गराउनमा व्यस्त रहे । रुघाखोकीले ग्रसित भएको बताएका उनी सहभागी हुनैपर्ने कार्यक्रममा भर्चुअल सहभागी भए ।

गत हप्ता एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याएका ओलीले यो  हप्ता स्वास्थ्य अस्वस्थ भएका कारण केही कार्यक्रम भर्चुअल नै उद्घाटन गरेका हुन् ।

हप्ताको पहिलो दिन आइतवार माघ ७ गते ओलीले नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गरे । जहाँ उनले सम्बोधन गर्दै साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने प्रतिबद्धता जनाए ।

यसैगरी माघ ८ गते प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरे । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको बताएका थिए ।

जहाँ कार्यक्रममा उपप्रधानमन्त्री,मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सोही दिन माघ ८ गते  नै ओलीले  सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गरे । जहाँ उनले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको गफ लगाउन भुलेनन् ।

यसैगरी ८ गते  नै प्रधानमन्त्रीले बेलायती राजदूत भेटवार्ता गरे । भेटमा सधैँजसो दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा मात्रै छलफल गर्न सीमित भए ।

यसरी भेटघाट, सम्बोधनमै व्यस्त रहेका ओलीलाई एक्कासि रुघाखोकीले च्याप्यो र  अस्पताल भर्ना हुनुपर्यो। यसरी अस्पताल भर्ना भएका ओलीले उद्घाटनलाई भने  छाडेनन् ।

माघ ११ गते  उनले  आराम गरिरहेकै  बेला  पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन गरे । प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटनगरे । प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रम स्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।

ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गर्न भने भुलेनन् ।

माघ ११ गते  नै  ओलीले  तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा नै उद्घाटन गरे । जहाँ भर्चुअलरुपमा उनले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन मात्र भएको उल्लेख गरे ।

यसैगरी माघ ११ गते नै ओलीले भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गरे । जहाँ उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट पारे ।

साथै ११ गते फेरी भर्चुअल माध्यमबाट नै ओलीले बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सभालाई सम्बोधन गरे ।

जहाँ ओलीले सुरुङमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताए ।

यसैगरी दुई दिन बीचमा कतै नगएका ओली १४ गते भने भर्चुअलबाट बाहिर निस्केर सूर्यविनायक नगरपालिकाको प्रसासशीयक भवन  उद्घाटन गर्न पुगे । जहाँ उनले काँग्रेसबाट सरकारलाई पूराका पूरा साथ छ भन्दै कांग्रेसको खुलेर प्रशंसा गरे ।

ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्नेलगायत विषयमा भाषण दिन भ्याए ।

यसैगरी संसद्को अधिवेशन प्रारम्भ गर्नको लागि ओलीले १४ गते नै सत्तापक्ष दलको बैठक बोलाए ।

बैठकमा ओलीसँगै नेपाली काँग्रेसका सभापति शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी रह्यो ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए । उनले संसदलाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए ।

यसैगरी ओलीले  माघ १५ गते एमालेको संसदीय दलको बैठक बोलाए । ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताए ।

संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले केही गरौँ भन्ने युवाहरूलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पारे ।

यसैगरी माघ १६ गते ओली नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटनसत्रलाई सम्बोधन गर्न पुगे ।  जहाँ उनले ‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ भन्दै इमान्दारीताको धाक नै लगाए ।

सोही दिन नै ओलीले राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहलाई सम्बोधन गरे । जहाँ प्रधानमन्त्री ओलीले सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे ।

यसैगरी माघ १७ गते ओली  नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्न पुगे ।

ओलीले उक्त कार्यक्रममा ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे ।

माघ १८ गते  संसदमा प्रस्तुत भए । जहाँ उनले सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ भन्दै पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै अभिव्यक्ति दिए ।

ओलीले भने, ‘गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’ साथै उनले विपक्षी दलहरूले सरकार ढल्यो ढल्यो  भनेर गीत गाउँदैमा सरकार नढल्ने समेत कडा अभिव्यक्ति दिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सम्बन्धित खबर

/frontend/images/redline.png