अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका विद्यालयमा बिहानी कक्षा सञ्चालन
खोटाङ I अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिनेभएको छ । दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा सञ्चालित नौवटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने-गराउने निर्णय गरेको हो ।
दूधकोशी र सुनकोशी किनारमा पर्ने वडा नं. १, २, ४, ५, ८, ९ र १० को एक-एकवटा तथा वडा नं ११ का दुईवटा विद्यालयको पठनपाठन समय परिवर्तन गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।
“नौवटा विद्यालय कोशी किनारमा पर्छ । लामो समयको खडेरीका कारण गर्मी बढेसँगै ती विद्यालयहरुमा पठनपाठन प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “गर्मीका कारण पठनपाठनमा समस्या भएको खण्डमा अन्य विद्यालयको समय पनि क्रमशः परिवर्तन गरिनेछ । गर्मी प्रभावित क्षेत्रका अन्य विद्यालयको समय परिवर्तन गर्ने अधिकार सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई दिने बिहीबार बसेको नगर कार्यपालिका बैठकबाटै निर्णय गरेका छौँ ।”
नगर कार्यपालिकाको आकस्मिक बैठकले गरेको निर्णय अनुसार कोशी किनारका नौँवटा सामुदायिक विद्यालयमा आइतबार देखि बिहानको समयमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा समुदायिक र चारवटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सामुदायिक र संस्थागत गरी ९४ वटा विद्यालय सञ्चालनमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा छ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
नगरपालिका क्षेत्रभित्र पर्ने कोशी किनारको तापक्रम दिउँसोको समयमा ४० डिग्री सेल्सियस भन्दा बढी हुने गरेको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा लामो समयको खडेरीका कारण अधिकांश क्षेत्रमा अहिले सम्म खेतीपाती समेत लगाइएको छैन ।
लेकाली क्षेत्रमा पर्ने अर्खौले, नवलपुर, राजापानीको माथिल्लो भागमा लगाइएको मकै, आलु लगायतका बाली समेत खडेरीले सुकेको पाइएको छ ।
लामो समयको खडेरीका कारण खेतीपाती गर्न नपाउँदा हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउँमा बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका स्थानीय बासिन्दाहरु यस वर्ष समयमा पानी नपर्दा अर्को वर्ष भोकमरी हुनेमा चिन्तित बनेका हुन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सुक्खाग्रस्त क्षेत्र हलेसीमा तीन वर्षअघि पनि खडेरीले समस्या भएको थियो । तत्कालीन समयमा नगर प्रमुख इवन राईको नेतृत्वमा सञ्चालित नगरपालिकाले नगरवासीलाई राहत समेत उपलब्ध गराएको थियो ।
सुक्खाग्रस्त क्षेत्र भएका कारण हिउँदको समयमा खेतीपातीको काम नहुँदा हलेसी नगरपालिकाका अधिकांश युवा ज्यालामजदुरी गर्न अन्यत्र जाने गरेका छन् । वर्षायाम शुरु भएपछि गाउँ फर्किएर खेतीपाती गर्दै आएका उनीहरु यस वर्ष अहिलेसम्म वर्षा नहुँदा आफ्नो गाउँ फर्किएका छैनन् ।
सम्बन्धित खबर