अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
चितवन I गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबार देखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबार देखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजार देखि दुई हजार दुई सयसम्म पुग्ने गरेका छन् ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार विगत एक साता देखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो ।” अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ ।
लामो समयसम्म वर्षा नहुदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबार देखि टिकट काउन्टर थप गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप व्यवस्थापन गर्न टिकट काउन्टर दुई वटा थप्ने योजनामा अस्पताल रहेको छ ।”
नियमित अस्पताल आउने बाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखाला लगायतका बढीमात्रामा छन् । उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो । बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
गत माघ देखिको तथ्याङ्क हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । माघमा ३२ हजार, फागुनमा ३४ हजार पाँच सय, चैतमा ३६ हजार दुई सय र वैशाख २० गते सम्म २४ हजार आठ सय बिरामीले सेवा लिएका छन् ।
अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ । उहाँले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौँ ।” सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा आउन समेत उहाँले आग्रह गर्नुभयो ।
अहिले अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ । यो सँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परार्मश कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उहाँले बताउनुभयो ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले चैतमा भन्दा वैशाख लागे सँगै बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने भन्दै उहाँले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गर्नुभयो ।
सम्बन्धित खबर