काउली र बन्दाको मूल्य कम हुँदा किसान मर्कामा
रौतहट । रौतहटका बजारमा काउली र बन्दाको मूल्य कम हुँदा किसान मर्कामा परेका छन । अहिले काउली र बन्दा यहाँका स्थानीय बजारमा ८ देखि १० रुपैयाँमा पाइन्छ । खेतीमा लागेको लागत र मेहनत अनुसार यो मूल्यमा बिक्री गर्दा फाइदा नहुने कृषकहरू बताउछन ।
जिल्लाको उतरी भेगमा काउली र बन्दाको उत्पादन बढी हुने गर्दछ । यहाँका अधिकांश कृषक काउली र बन्दाको खेती गर्ने गर्दछन । यो मूल्यमा काउली र बन्दा बिक्री गर्दा घाटा हुने वृन्दावन नगरपालिका वडा नं–१,बलेरीका कृषक शिवचन्द्र पटेलले बताए । उनका अनुसार यहाँका बजारमा भारतीय तरकारी सस्तोमा पाइने भएपछि समस्या भएको हो ।
भारतीय तरकारी यहाँका हाट बजारमा सहजै र सस्तोमा पाइन थालेपछि उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यो समयमा गत वर्ष काउली प्रतीकेजी १५ देखि २५ रुपैयाँसम्म बिक्री गरेको कृषक पटेलले बताए । यस पटक आफूले ८ कठ्ठामा काउली र बन्दाको खेती गरेको उनले बताए । यस वर्ष घाटा ब्यहोर्नु परेकाले अब अर्को वर्ष देखि अन्य बालि लगाउने सोच बनाएको उनले बताए । अब अर्को वर्ष मकै खेती गर्ने योजनामा रहेको उनले उल्लेख गरेका छन ।
कृषि ज्ञान केन्द्र गौरका अनुसार काउली र बन्दाका लागि यस जिल्लाको हावापानी उपयुक्त भएपनि मूल्यका कारण कृषक विस्थापित हुन थालेका हुन । भारतमा उत्पादन हुने कृषि उपजहरू नेपाली बजारमा पाइने भएकाले यहाँका कृषक मर्कामा पर्दै आएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।
सम्बन्धित खबर

