सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०२ फागुन २०८१

नेपाली मूलका बैँकर रिजाल इजरायलमा, विपिन जोशीको सुरक्षित रिहाइको माग

https://jawaaf.com/storage/01JM15DHDG8N5HRZZJ87YQ5AAK.avif

इजरायल । न्यूयोर्कमा कार्यरत नेपाली मूलका बैँकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्युयोर्कस्थित क्रस रिभर बैँकको  क्वान्टिटेटीभ स्ट्राटेजीज विभागको प्रमुख समेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले अपहरण गरेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे।

नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, ‘त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबिचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो।’

रिजालले थपे, ‘हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ। किनकि अझै पनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक विपिन जोशी पनि छन्। उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौँ र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।’ 

रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूलाई स्मरण गर्दै भने, ‘नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति, र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपना एक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चित गर्न चाहन्छौँ कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन। उनीहरूका परिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रो प्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।’ 

‘आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनि उभिनुपर्छ। हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमा आफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैँ अन्धकारलाई जितोस्। दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। उनीहरूका परिवारजनले धैर्य र शक्ति प्राप्त गरून्,’आफ्नो मन्तव्यमा रिजालले भने। 

रिजालसँग कुराकानी गर्दै किब्बुजमा नेपाली विद्यार्थीहरूसँगै बसेका र काम गरेका इजरायली नागरिकहरूले उनलाई घटनाको विवरण सुनाउनुका साथै मृतक विद्यार्थीहरूको सम्झना गरेका थिए।  उनीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विपिन जोशीप्रति थप ध्यान दिनुपर्ने माग पनि गरे। 

अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। नेपाल सरकारले इजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामै रहेका ठानिएका विपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गरिरहेको छ।

सम्बन्धित खबर

/frontend/images/redline.png