समाजवादी विद्यार्थी युनियनको घोषणापत्र : शैक्षिक ऋणको सुनिश्चितता गर्ने
धरान । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले चैत्र ५ मा हुने स्ववियु निर्वाचनको लागि घोषणापत्र जारी गरेको छ । सोमवार समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिको ललितपुर स्थित बसेको बैठकले संयुक्त घोषणापत्र जारी गरेको हो ।
शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीले पाउने शैक्षिक ऋणको सुनिश्चितता कार्यान्वयन सहितको युनियनले आफ्नो ३३ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
शैक्षिक प्रणालीलाई सुधार गरि वैज्ञानिक संघिय समाजवादी शिक्षा प्रणाली लागु गराउन, वि.सं. २०२८ सालको शिक्षा ऐन खारेज गर्न संसदमा विचाराधीन संघिय शिक्षा ऐन पारित गर्न दवाव दिने,संस्कृत भाषा सहित त्रिभाषिक शिक्षा नीति लागु गराउन, विश्व भाषा जस्तै नेपालको मातृ भाषाहरूको भाषा विद्यालय केन्द्र स्थापना गर्ने,नतिजा प्रकाशन, ट्रान्सक्रिप्ट वितरण रिटोटलिङ्ग जस्ता काम समयमै सेवा उपलब्ध गराउन,ट्रान्सक्रिप्ट वितरण अध्ययन गरेको क्याम्पस बाटै पाउने व्यवस्था गर्ने, भर्ना शुल्क, परीक्षा शुल्क जस्ता सेवा घण्टौ लाइनमा उभिएर बैँक भौचर काटेर बुझाउने पक्रिया अन्त्य गरी अनलाइन प्रविधिमार्फत बुझाउन मिल्लने प्रविधिको विकास गर्ने जस्ता युनियनको मुख्य प्रतिबद्धता रहेको छ ।
युनियनले स्ववियुको निर्वाचन पूर्ण समानुपातिक समावेशीताका आधारमा हुनु पर्ने धारणा व्यक्त गर्दै आएको छ । सामाजिक, सांस्कृतिक, भाषिक तथा क्षेत्रीय वर्गीय विभेद अन्त्य गर्न न्यायपूर्ण विश्वविद्यालय निर्माण गर्न गराउन पूर्ण समानुपातिक समावेशी निर्वाचन उचित रहेको युनियनका अध्यक्ष प्रकाश राईले बताएका छन। देशभर हुने स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनका उम्मेदवारहरूलाई मत दिएर जिताउन समेत उनले अनुरोध गरेका छन ।
सम्बन्धित खबर