बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २२ चैत २०८१

मुख्यमन्त्रीलाई बुझाए नवलपुरका किशोरीहरूले ध्यानाकर्षण पत्र

https://jawaaf.com/storage/01JQZCSRHJ94QYS2WWSJ599RWR.avif

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किशोरीहरूको सशक्तीकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा पुगेका किशोरीहरूसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहीबार पाण्डेले सो धारणा व्यक्त गरेका हुन् ।

नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनको सहयोगमा मध्यविन्दु नगरमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका ३० जना किशोरीहरूले आफूहरूले काम गर्दाका दौरानका अनुभव, चुनौती र सम्भावनाका विषय ध्यानाकर्षण गराए ।

किशोरीको टोलीले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिका लक्षित गर्नुपर्ने १६ बुँदे ध्यानाकर्षण पत्र पेश गरेका थिए ।

ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरू र संरचनाहरूको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरूमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरूमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन, दिवा खाजाको व्यवस्थापनको लागि स्थानीय तहसगको समन्वयमा काम गर्नुपर्ने  जस्ता विषयहरू समावेश गरिएको किशोरी अभियन्ता अनिशा पौडेलले बताइन् ।

बालिकाहरूको लागि आवश्यक पर्ने विभिन्न विषयहरूको बारेमा स्वयम् किशोरीहरूले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता संस्कृति भट्टराईले बताउनुभयो ।बालिकाहरूको भ्रुणमै असुरक्षित रहनु,  हिंसा, दुव्र्यवहार र शोषणको शिकार हुनु गम्भीर चुनौतीको रूपमा उल्लेख छ । यी समस्या समाधानको लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा लैजान जोड दिइएको छ ।

ध्यानाकर्षण पत्रपश्चात मुख्यमन्त्रीले प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र भित्र गर्न सकिने कार्यहरूको नीतिगत व्यवस्थाहरू सुरु गरिएको र सम्पूर्ण किशोरीहरू सजग जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्न लाग्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png