हेटौँडा अस्पताल विवाद : पक्राउ गरिएकालाई रिहा गरिने
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बिहीबार पक्राउ गरिएकालाई तत्काल रिहा गर्ने आश्वासन दिएकी छन् ।
प्रदर्शनकारीले जिल्ला प्रशासन (सिडियो) कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरूको भनाइ छ ।
हेटौँडा अस्पतालको बोर्डमा केरमेट गरेको घटनामा संलग्न रहेको भन्दै बिहीबार प्रहरीले छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । हेटौँडा अस्पताल र मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच विवाद चर्किदै आएको छ ।
प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरू हिरासत भित्रै अनसन बसेका थिए ।
हिरासतमा रहेका ६ जनाले नै हेटौँडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन् । नेपाल तरुण दल हेटौँडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरवासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए ।
सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरूलाई अन्तिम समयमा नियन्त्रणमा लिइएको थियो । २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालन गर्ने निर्णय भएको थियो ।
भिडियो लिङ्क :
सम्बन्धित खबर