बराहक्षेत्रको बिचपानीमा हर्षोल्लास पूर्ण साकेला उभौली मनाइयो
बराहक्षेत्र, सुनसरी। देशभर तथा विदेशमा रहेका किराँत राईहरूले महान चाड साकेला २०८२ सालको उभौली तथा एले सम्वत् ५०८५ मनाइरहँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बिचपानीमा पनि विधिवत् रूपमा िहजो आइतवार हर्षोल्लासका साथ कार्यक्रम सम्पन्न भएको छ।
साकेला प्रारम्भिक कार्य समिति बराहक्षेत्र–३ बिचपानी ले आयोजना गरेको उक्त कार्यक्रममा किराँत राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष नरेश राई प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा किराँत राई यायोक्खा नगर सदस्य मणि प्रसाद राई, समाजसेवी तथा पूर्व ३ नम्बर वडा अध्यक्ष रुद्र दाहाल, किराँत राई बान्तावा खिम जिल्ला सदस्य तथा यायोक्खा नगर सदस्य धनराज राई, समाजसेवी रामेश्वर तामाङ, किराँत राई यायोक्खा बराहक्षेत्र १ अध्यक्ष शुभधन राई, समाजसेवी तथा किराँत राई यायोक्खा भरौल प्रा. क. स. सदस्य सूर्य चाम्लिङ राई, र जाल्पा आधारभूत प्राथमिक विद्यालयका प्र.अ. अनुसा वन लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । राज्यले सबै संस्कृति र सभ्यताहरूलाई समान रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए।
पूर्ववडा अध्यक्ष रुद्र दाहालले यस्ता महत्त्वपूर्ण चाडपर्वहरूमा समाजसेवी, संघसंस्था, जनप्रतिनिधि र स्थानीय सरकारहरूको सहयोग र बजेट विनियोजनमा महत्त्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, किराँत राई यायोक्खा बराहक्षेत्र नगर सदस्य मणि प्रसाद राईले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकोले सबैखाले फूल फुले मात्र सुन्दर देश नेपाल देखिने धारणा राख्नुभयो।
रामेश्वर तामाङ, सूर्य चाम्लिङ राई, शुभधन राई लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नरेश राईले नेपाल धेरै जाति, धर्म र संस्कृति भएको देश भएकाले तहगत सरकारले विभेदरहित समान रूपमा हेर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले इतिहास, सभ्यता र पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पहिचान झल्कने गरी पुन: नामाकरण गरिनुपर्नेमा जोड दिँदै "कोशी मान्दैनौ, जय किराँत" भन्दै आफ्नो मन्तव्य टुङ्ग्याउनुभयो।
कार्यक्रमको अध्यक्षता जितराज राईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव बलराज चाम्लिङ राई र जमा बाम्बुले राई ले संयुक्त रूपमा गरेका थिए।
सम्बन्धित खबर
