२०८२ उभौली साकेला बराहक्षेत्रमा सम्पन्न : किरात राईहरूको पहिचान र अधिकारमाथि जोड
बराहक्षेत्र, सुनसरी । किराँत राई समुदायको महान् पर्व उभौली साकेला २०८२ जेठ १४ गते बराहक्षेत्र नगरपालिका–३ स्थित बाङ्गेबजारमा भव्यताका साथ सम्पन्न भएको छ। किरात राई यायोक्खा बराहक्षेत्र ३, ४, ५ (साबिक भरौल) को आयोजनामा भएको कार्यक्रममा चतरा, प्रकाशपुर, नडाह, अमाह सिमसार, चक्रघटी, र बिचपानी हुँदै नगर क्षेत्रमा आइपुगेर समापन भएको हो ।
साकेला समापन समारोहको उद्घाटन समाजसेवी तथा शिलीमाङपा सूर्य कुमार राईले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्वको महत्वमाथि प्रकाश पारेका थिए। यो पर्वले किराँत राई समुदायको मौलिक संस्कृति, परम्परा र आपसी भाइचारा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेले बताएकाछन् ।
प्रमुख अतिथि किरात राई यायोक्खा सुनसरीका उपाध्यक्ष यलमहाङ राई र विशिष्ट अतिथि जिल्ला कोषाध्यक्ष तेज बान्तावा राईले किराँत राई समुदायको पहिचान, अधिकार र यसलाई स्थापित गर्न यायोक्खाको भूमिकाबारे विस्तृत प्रकाश पार्नुभयो र १ नँ. प्रदेशलाई पहिचानको आधारमा पुनःनामाकरण गरि किरात प्रदेश बनाउनुपर्ने बताउनुभयो।
उहाँहरूले २०८२ को उभौली साकेलाको अन्तिम समापन जेठ १७ गते हुने जानकारी दिँदै सुनसरी जिल्ला भित्रका सम्पूर्ण वडा प्रादेशिक समितिहरूलाई भव्य र सभ्य तरिकाले सहभागिताका लागि अनुरोध गर्नुभयो। यो आह्वानले जिल्लाभरका किराँत राई समुदायलाई एकताबद्ध गरी सांस्कृतिक पर्वलाई अझ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा किरात राई यायोक्खा बराहक्षेत्रका विभिन्न तहका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। सो अवसरमा किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष नरेश राई, बान्तावा खिम नगर उपाध्यक्ष चिना राई, यायोक्खा नगर सदस्य मणि प्रसाद राई, किरात राई यायोक्खा बराहक्षेत्र १ र २ का अध्यक्ष सुबधन राई, किरात राई यायोक्खा बराहक्षेत्र ६, ७ र ८ (साबिक महेन्द्रनगर) का अध्यक्ष मनिस राई, किरात राई यायोक्खा बराहक्षेत्र ९ र १० प्रकाशपुरका अध्यक्ष जंग बहादुर राई लगायत दहलकुमार राई, बलराज चाम्लिङ राई, मित्रराज राई लगायतको सहभागिता रहेको थियो। यसैगरी, इलाका प्रहरी कार्यालय चक्रघटी र अस्थायी प्रहरी चौकी बाङ्गे बजारका प्रतिनिधिहरूका साथै विभिन्न बुद्धिजीवी तथा संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
सम्बन्धित खबर