एले संवत् ५०८५ को उँभौली समापन, वक्ताहरूद्वारा प्रदेशको नामकरणप्रति गम्भीर असन्तुष्टि व्यक्त
इटहरी, सुनसरी। किरात राई बान्तावा खिम १ नं. प्रदेश समिति र किरात राई बान्तावा खिम इटहरी नगर समितिको संयुक्त आयोजनामा किराँती मुद्धुम अनुसार उँभौली साकेला प्रयोजनका लागि निकालिएको ढोलझ्याम्टालाई विधिवत् रूपमा पुनः थन्काइएको छ।
जेठ १९ गते इटहरीमा २०८२ को उँभौली तथा एले संवत् ५०८५ को पावन अवसरमा आयोजित एक विशेष कार्यक्रमका साथ उँभौली पर्वको भव्य समापन गरिएको हो । सो कार्यक्रमको अवसरमा पृथ्वी र सम्पूर्ण मानव जातिको भलो होस् भन्ने कामना गर्दै विभिन्न नागछोङ्हरूद्वारा पूजागर्नु का साथै शाकेला \ शाकेन्वा शिली नाच प्रदर्शन पनी गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा किरात राई बान्तावा खिम केन्द्रीय समितिका अध्यक्ष ज्ञान किराँती उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा इटहरी १० का वडा अध्यक्ष भवेश चौधरी, किरात राई यायोक्खा केन्द्रीय सदस्य तथा बान्तावा खिम केन्द्रीय सल्लाहकार कमला राई, चिराहाङ राई, र गौरीमान राई लगायतको उपस्थिति थियो।
त्यस्तै, अतिथिका रूपमा किरात राई बान्तावा खिम केन्द्रीय सल्लाहकार पूर्ण बहादुर राई, समाजसेवी राज कुमार गुरुङ्ग, शारदा श्रेष्ठ, दिल कुमार मगर, प्रेम बि क, सानबिर लिम्बू, लोकेन्द्र राई, मीन बहादुर मगर, राजन पराजुली, शिर्बिङ राई, बिकाश राई, सीता लिम्बू, पूर्ण राई, हाङ्मा राई, शुबधन राई, र देवराम राई लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमकी विशिष्ट अतिथि कमला राईले प्रदेश १ को नाम 'कोशी' राखिएकोमा कडा असन्तुष्टि व्यक्त गरिन्। उनले एमाले, कांग्रेस र माओवादी तीन दलको सहमतिमा प्रदेश १ का जनताको जनभावना विपरीत जबरजस्ती नाम लादिएको आरोप लगाउँदै यसलाई ऐतिहासिकता, सभ्यता र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्नेमा जोड दिइन्।
प्रमुख अतिथि ज्ञान किराँतीले पहिचान र अधिकारका लागि अब सम्पूर्ण हेपिएका, दबाइएका र पछि पारिएका उत्पीडित समुदाय एक हुन आवश्यक रहेको बताए। उनले सबैलाई आआफ्नो ठाउँबाट नैतिक, आर्थिक र भौतिक रूपमा सहयोग गर्नका लागि मन खुल्ला गरेर एक भएर अगाडि बढ्न अनुरोध गरे।
आयोजकद्वारा कार्यक्रममा किरात राई बान्तावा खिमको लागि जग्गा खरिद र भवन निर्माण कार्य सुरु भएको जानकारी दिँदै अझै धेरै काम बाँकी रहेको अवगत गराइएको थियो। स्वेच्छाले आर्थिक सहयोग गर्न बाँकी रहेका सम्पूर्णलाई सहयोगका लागि पुनः आह्वान गरिएको छ।
इटहरी उपमहानगरपालिका १० मा सम्पन्न यस कार्यक्रमको अध्यक्षता किरात राई बान्तावा खिम १ नं. प्रदेश समितिका अध्यक्ष ओम प्रकाश राईले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव किरण राईले गरेका थिए।
सम्बन्धित खबर
