'काइते कानुन' विरुद्ध सत्ताको केन्द्रमा जान चाहन्छु : मेयर साम्पाङ
२० जेठ,धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताको जीवनस्तर उकास्न र उनीहरूलाई मर्न नदिने कानुन बनाउन आफू सत्ताको केन्द्रमै पुग्न चाहेको विचार व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यो भनाइ सार्वजनिक गरेका हुन्।
साम्पाङले आफूले गरेका जनमुखी कामहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारम्बार प्रश्न उठाउने गरेको गुनासो पोखे। उनका अनुसार, बाढीले बस्ती बगाउन लाग्दा हतार-हतार खोलामा तटबन्धन गर्न जाँदा अख्तियारले 'प्रक्रिया मिलेन, जनतालाई बगाए बगाओस्, जनता मर्दा केही हुँदैन तर प्रक्रिया पूरा गर्नु पर्छ' भन्दै रोक लगाएको गुनासो गरेकाछन् ।
यसैगरी, उनले २-३ लाख रुपैयाँको सामान्य खर्चमा करोडौँको बाटो र पुल भत्कन नदिन श्रमदानको महामेला चलाउँदा पनि अख्तियारले 'कानुन अनुसार हुँदैन' भन्दै रोकेको बताए।
साम्पाङले आफूले गरेका पार्क बनाउने, पानी खुवाउने र संस्कृतिको जगेर्ना गर्ने जस्ता कार्यहरूमा समेत मुद्दा लाग्ने गरेको उल्लेख गरे। "पार्क बनाउँछु मुद्दै लाग्छ, पानी खुवाउँछु मुद्दै लाग्छ, संस्कृतिको कुरा गर्छु मुद्दै लाग्छ," उनले भने।
साम्पाङका अनुसार, धरानका जनताले खानेपानीको चरम अभाव झेलिरहेका बेला उनले विदेशी ऋण वा ठेक्काको लामो र जटिल प्रक्रियामा नअल्झिएर ९-१० वटा खोलाबाट पानी जोडेर जनताको प्यास मेटाएका थिए। यस विषयमा अख्तियारको प्रश्नलाई लक्षित गर्दै उनले भने, "जनतालाई पानी खुवाउन विदेशी ऋण अरबौँ रुपैयाँ लिनु पर्ने अनि १०औँ वर्षको ठेक्का लगाउनु पर्ने थियो। किन सहयोग मागेर जनतालाई उठाएर पानी ल्याएको? यो कुन कानुनमा छ? भन्ने प्रश्न तेर्स्याइरहन्छ अख्तियार!"
साम्पाङले श्रमदानको माध्यमबाट जनतालाई देशसँग जोड्ने अभियान चलाएर विश्व रेकर्ड राखेको बताए। तर, जनतालाई देश चिनाउनु र देशको माया महसुस गराउनुलाई अख्तियारले 'अपराध' भनेर व्याख्या गरेको आरोप उनले लगाए।
मेयर साम्पाङले अहिले देशकै पीडा 'काइते कानुनले गर्दा' महसुस भएको बताए। यही कारणले अब आफू देशको कानुन बदल्न, जनताको जीवनस्तर उठाउन र जनतालाई मर्न नदिने कानुन बनाउन सत्ताको केन्द्रमै पुग्न चाहेको उनको भनाइ छ।
उनले जनतालाई आफूलाई साथ दिन आह्वान गर्दै भावनात्मक अपिल समेत गरेकाछन् ।, "यो माटो, यो धर्तीको कसम, सुम्निमा पारुहाङको कसम म बनाउनेछु यो देश! मेरो विचारले उठाउनेछ लडेको यो देशको सान! मलाई साथ दिनोस्! मलाई साथ दिनोस्! मलाई साथ दिनोस्!"
सम्बन्धित खबर
