'किरात अब्राहामका सन्तान' दाबी गरिएको पुस्तकप्रति किरात राई साम्पाङ जुम्लेखा, सुनसरीको चर्को आक्रोश
जेठ २४,धरान । रेभ. तुलसी साम्पाङ राईद्वारा लिखित हालै प्रकाशित पुस्तक 'किरात खम्बु साम्पाङ राईहरूको हराइरहेको राजवंशको खोज' ले नेपालको किरात समुदायमा चर्को आक्रोश उत्पन्न गरेको छ । पुस्तकमा गरिएका दाबीहरू, विशेषगरी किरातहरू अब्राहामका सन्तान हुन् र उनीहरू नै नेपालका 'प्रथम शूरवीर निर्माणकर्ता' हुन् भन्ने भनाइले किरात इतिहास र पहिचानलाई बंग्याएको भन्दै सिंगो किरात समुदाय आक्रोशित बनेको हो ।
पुस्तकमा प्राचीनकालमा इजरायललाई कनान र किर्यत अर्बालाई हेब्रोन भनिन्थ्यो भन्दै यी स्थानहरू किरात साम्पाङ राईहरूको प्राचीन पृष्ठभूमि र पुर्खा थिए भनी उल्लेख गरिएको छ । यी विवादास्पद दाबीहरूलाई किरात समुदायका विभिन्न संघसंस्थाहरूले खण्डन तथा विरोध जनाइरहेका छन्। धेरैले यसलाई किरात जातिको मौलिक इतिहास र धार्मिक परम्परालाई कमजोर पार्ने सुनियोजित प्रयास का रूपमा लिएका छन् ।
यसै सन्दर्भमा, किरात राई साम्पाङ जुम्लेखा नेपाल, सुनसरी जिल्ला समिति को जेष्ठ २४ गते धरानमा समितिका अध्यक्ष सङ्ग्राम साम्पाङको अध्यक्षतामा बसेको बैठकले पनि पुस्तकमा उल्लेखित विषयवस्तुबारे गम्भीर आपत्ति प्रकट गर्दै विरोध जनाएको छ ।
समितिका सदस्य अनिल साम्पाङ राईले भने, "मेरो व्यक्तिगत रूपमा सबै धर्म र समुदायप्रति सम्मान छ र हाम्रो समितिको पनि यही धारणा हो । तर, यसरी हाम्रो वास्तविक पहिचान, इतिहास, धर्म, परम्परा र सभ्यतालाई नै गलत ढंगले व्याख्या गर्न खोज्नु गम्भीर अपराध हो ।" उनले भने यस्तो 'अपराध कर्म' पुनः दोहोराउन दिनहुन्न ।
'सांस्कृतिक आक्रमण' र धर्मान्तरणविरुद्ध सचेत रहन आह्वान
किराँत अभियन्ताहरूले पुस्तकका दाबीहरूलाई गम्भीर 'सांस्कृतिक आक्रमण' र धर्मान्तरणलाई बढावा दिने 'षड्यन्त्र' का रूपमा लिएको छ। सामाजिक सञ्जालमा विभिन्न किराँत अभियन्ताहरू तर्क गर्छन् कि किरातहरूलाई अब्राहामका सन्तान र इजरायलबाट आएका भनी जोड्नु केवल गलत व्याख्या मात्र होइन—यो रणनीतिक धर्मान्तरण को हिस्सा हो, जसले किरात सभ्यता, धर्म, मुन्धुम परम्परा र जातीय अस्तित्वमाथि सीधा प्रहार गरेको छ। "किरात राई समुदायको मौलिक धर्मको कुनै सम्बन्ध यहूदी, इस्लाम वा ख्रिस्टियन परम्परासँग जोडिएको छैन । मुन्धुम धर्ममा कुनै व्यक्ति ईश्वर छैन, कुनै पुस्तकको आदेश छैन, छ त केवल प्रकृति र पुर्खा । सत्य यो हो, मुन्धुम प्रकृति र पुर्खाको पूजा गर्ने सभ्यता हो ।"
किराँत अभियन्ताहरूले 'आधारहीन मनपरी व्याख्या, अपमान र सांस्कृतिक हस्तक्षेप' लाई अपराधको संज्ञा दिएको छ जसले किराँत सभ्यता, पहिचान र सहअस्तित्वमाथि समेत आघात पुर्याएको जनाएका छन् । उनीहरूले यस्ता 'विकृत विचार' विरुद्ध डटेर प्रतिकार गर्न आह्वान गर्दै भनेका छन्, "अब चुप बस्ने समय छैन। यो सांस्कृतिक आक्रमण हो। धर्मान्तरणको प्रतिरोध गरौं। मुन्धुम—प्रकृति र पुर्खा—किराँत सभ्यतालाई जोगाऔं।"
सम्बन्धित खबर