बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ३१ जेठ २०८२

माओवादीप्रति जनविश्वास बढ्दा घेराबन्दी र बदनाम गर्ने प्रयास भयोः प्रचण्ड

https://jawaaf.com/storage/01JXQ0N31ESQ7EYCXRRP6A2Y0R.jpg

मोरङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनविश्वास बढ्दै गएकाले घेराबन्दी गर्ने र बदनाम गराउने प्रयास भइरहेको बताएका छन्। मोरङको उर्लाबारीमा विभिन्न राजनीतिक दल परित्याग गरी ३७० जना नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले यस्तो भनाइ राखेका हुन्।

नवप्रवेशीहरू सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जनालाई प्रचण्डले स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रतिको जनविश्वास दिन प्रतिदिन बढ्दै गएको उल्लेख गरे। उनले भने, ‘पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको छ।’

प्रचण्डले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेको दाबी गरे। षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परे पनि जनताको घरदैलोमा पुगेर दुःख-सुख बाँडेका कारण माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बनेको उनको भनाइ थियो।

पूर्वी नेपालका झापा र मोरङ जिल्लामा अघिल्लो स्थानीय चुनावमा माओवादी केन्द्रले उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै उनले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएकाले षड्यन्त्र भइरहेको उनले बताए।

अध्यक्ष प्रचण्डले नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताएका छन्।

सम्बन्धित खबर

/frontend/images/redline.png