धरानमा ‘राजवृक्षको हाँगो’ विमर्शसहित प्रगतिशील साहित्यिक कार्यक्रम सम्पन्न
धरान । प्रगतिशील लेखक सङ्घ नेपाल, सुनसरीको आयोजनामा हिजो शनिवार धरान–१८ बुद्धचोकस्थित कवि विमल स्मृति पुस्तकालयमा ‘राजवृक्षको हाँगो’ कथासङ्ग्रहमाथि विमर्शसहितको एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अग्रगामी रचना वाचन र विशिष्ट स्रष्टाहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रा. डा. खेमराज खनालले धरानमा प्रगतिशील साहित्यिक धार अझै सशक्त रहेकोमा जोड दिँदै यस्तो धारालाई जीवन्त राख्न साहित्यिक जमातको भूमिका अपरिहार्य रहेको बताए। विशिष्ट अतिथि बम देवानले प्रगतिशील साहित्यको संरक्षण र प्रवर्धनका लागि राज्यको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमको मुख्य आकर्षण प्रगतिवादी साहित्यकार टीका मिलनको कथासङ्ग्रह ‘राजवृक्षको हाँगो’ माथि साहित्यकार रेखा सुवेदीले प्रस्तुत गरेको गहिरो समीक्षात्मक विमर्श थियो। यस अवसरमा प्रगतिशील साहित्यमा पुर्याएको योगदानको कदर गर्दै प्रा. डा. भोलानाथ पोखरेल, लता कार्की, राजेन्द्र किराँती, टीका मिलन र जमुना श्रेष्ठलाई सम्मान गरिएको थियो।
प्रलेस, सुनसरीका सचिव कृष्णप्रसाद नेपालले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता विमला पोखरेलले गरेकी थिइन्। डम्बरु बल्लभ अधिकारीले बढ्दो विकृत साहित्यको प्रवृत्तिले प्रगतिशील धार कमजोर बन्दै गएको भन्दै लेखकहरूलाई सजग र सचेत रहन आह्वान गरे। कार्यक्रममा उपस्थित दर्जनौँ साहित्यकारले आफ्ना सशक्त अग्रगामी रचनाहरू वाचन गरेर माहोललाई थप साहित्यिक बनाएका थिए।
सम्बन्धित खबर