बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२

फागुन २० गते १८ स्थानका लागि निर्वाचन गर्ने तयारी

https://jawaaf.com/storage/01JY6CC85A8BCT9JXTJPTA347R.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने  विषयमा आज परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।

प्रतिनिधिसभाका सदस्यको रूपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।  यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

उनले संवत् २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव पनि दिएका छन् । भेटका अवसरमा आयुक्तहरू डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png