मेयर हर्क साम्पाङको नयाँ खुलासा : धरानका थप दुई वडाध्यक्ष 'स्वतन्त्र' हुने
धरान, असार २३। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमार्फत धरानका थप दुई जना निर्वाचित वडाध्यक्षहरू चाँडै 'स्वतन्त्र' हुने खुलासा गरेका छन् । आज एक फेसबुक पोस्टमा मेयर साम्पाङले, "अब दुई जना अरू वडाअध्यक्षहरू मुक्त हुँदैछन् गेसगर्नुस् को को जय स्वतन्त्र" भनी उल्लेख गरेका छन्।
मेयरको यो खुलासाले धरानको स्थानीय राजनीतिमा पुनः तरङ्ग सिर्जना गरेको छ। साम्पाङले यसअघि पनि विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो 'श्रम अभियान' मा जोड्दै आएका छन्। धरान उपमहानगरपालिकाका २० वटा वडामध्ये १९ वटामा विभिन्न दल आवद्ध वडाध्यक्षहरू निर्वाचित भएका थिए भने वडा नं. ६ मा स्वतन्त्र उम्मेदवार विजयी भए पनि निर्वाचन परिणामपश्चात् दलमा प्रवेश गरिसकेका छन्।
यसअघि, नेकपा एमालेबाट निर्वाचित धरान वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङको श्रमदान अभियानमा संलग्न भएपछि नेकपा एमाले धरान नगर समितिले उनलाई कारबाहीका लागि माथिल्लो समितिलाई सिफारिस गरेको थियो। यसको पुष्टि नेकपा एमाले धरान नगर उपाध्यक्ष पारस काङमाङ राईले गरिसकेका छन्।
मेयर साम्पाङको पछिल्लो फेसबुक पोस्टले कुन दुई वडाध्यक्षहरूले आफ्नो दल त्याग गर्नेछन् भन्नेबारेमा विभिन्न अडकलबाजीहरू सुरु भएका छन्। यो घटनाक्रमले धरानको राजनीतिक समीकरणमा थप परिवर्तन आउन सक्ने संकेत गरेको छ, जसले नयाँभन्दा पुराना दलहरूलाई ठूलो नोक्सानी पुऱ्याउने देखिन्छ।
सम्बन्धित खबर