मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार साँझ बसेको मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजो फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
बैठकले पर्साको वीरगंज सहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।
खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रीपरिषद्ले गरेको छ ।
सम्बन्धित खबर