पूर्व-सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरिए सशक्त आन्दोलन गर्ने जसपाको चेतावनी
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशले पूर्व-सांसद अशोक यादवमाथि लगाइएका मुद्दा खारेज नगरिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। पार्टीले जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न पनि माग गरेको छ।
शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपा नेताहरूले भने प्रहरी प्रशासनले पूर्व-सांसद यादवमाथि गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
जसपा मधेश प्रदेश समितिका उपाध्यक्ष निर्मला यादवले सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालयसहित विभिन्न कार्यालयका कर्मचारीहरूको एकाधिकार, लुटतन्त्र र भ्रष्टाचारबारे पटक-पटक जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित निकायलाई जानकारी गराएको बताइन्। उनले जिल्ला प्रहरी कार्यालयले पनि सर्वसाधारणलाई झूटो मुद्दामा फसाउने कार्य गरिरहेको आरोप लगाइन्।
उपाध्यक्ष यादवका अनुसार, गत बिहीबार पूर्वाधार विकास कार्यालयमा राति प्रहरी परिचालन गरी कार्यालय प्रमुखले मूल गेटमा ताल्चा लगाएर कार्यालय सञ्चालन गरिरहेको देख्दा सेवाग्राही त्रसित भएका थिए। यस विषयमा जानकारी लिन पूर्व-सांसद यादवले जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई फोन गर्दा खड्काले यादवलाई 'मधेसी हो' भन्दै हेपाहा शैलीमा कुरा गरी अपशब्द प्रयोग गरेको उपाध्यक्ष यादवले बताइन्।
यादवले त्यसको प्रतिकार गर्दा उल्टै प्रहरी परिचालन गरी राति १२ बजे उनको निजी निवासमा पुगेर यादवका छोरालाई निर्घात कुटपिट गरी घाइते बनाएको उपाध्यक्ष यादवको भनाइ छ।
जसपा मधेश प्रदेशले पूर्व-सांसद यादवमाथि लगाइएका झूटा मुद्दा खारेज गर्न र जिल्ला प्रहरी प्रमुखलाई तत्काल कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। उनीहरूले यस घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठनको पनि माग गरेका छन्। उपाध्यक्ष यादवले भेदभावपूर्ण नश्लीय सोच नसच्याएमा जसपा सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिएकी छन्।
सम्बन्धित खबर