बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २८ असार २०८२

जसपा मधेश प्रदेश अध्यक्षमाथि 'झुठा मुद्दा' लगाएको भन्दै मलंगवा बजार बन्द, आन्दोलन चर्कियो

https://jawaaf.com/storage/01JZZ7FF0HRB579TX0AGPVFNF5.jpg

रौतहट । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन् ।

उनिहरूले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन् ।

जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी रहने जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले बताए।

उनका अनुसार प्रहरीको ज्यादती विरुद्ध दुई दिने मलंगवा बजार बन्द आह्वान गरेको हो । पहिलो दिन शनिवार बिहानैदेखि  मलंगवा बजार बन्द हुनुका साथै यातायात समेत ठप्प छ ।

मलंगवाको विभिन्न स्थानमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले टायर बालेर प्रदशन गरेका छन् । लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन्।

मलंगवा बजार क्षेत्रको कलकारखाना बन्द छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने ठाउँ ठाउँमा प्रहरीको उपस्थिति बाक्लो बनाएको छ । सर्लाही जिल्ला अदालतबाट प्रहरीले जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएको एक साता बितिसक्दा पनि प्रहरीले यादवलाई पक्राउ गर्न भने सकेको छैन।  पूर्व मधेश प्रदेश सभा सदस्य समेत रहेका यादव र एसपी खड्काबिच असार १९ गते राति टेलिफोनमा अपशब्द प्रयोग गर्दै गालीगलौज र बाझाबाझ भएपछी अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

सर्लाही जिल्ला अदालतले यादवविरुद्ध आपराधिक उपद्रो कसुरमा पक्राउ गर्न असार २० गते नै अनुमति दिएको थियो ।

जसपा नेता यादवलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खोजी रहेका नेता यादव भने आफ्नो सामाजिक सन्जालमा विभिन्न भिडियो पोस्ट गर्ने र सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने काम भने गरिरहेकै छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png