कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ खेल व्यक्तित्व सम्मानित
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुदको विविध क्षेत्रबाट योगदान पुर्याउने १०१ जना व्यक्तित्वलाई शनिवार विराटनगरमा सम्मान गरेको छ ।
पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजार देखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
पत्रकारितामार्फत खेलकुद प्रवर्धनमा विशेष योगदान दिने अभयकुमार राई, सुमन सुस्केरा, रमेश समदर्शी, रमा दाहाल लगायतलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरियो ।
उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई निजी क्षेत्रबाट खेल प्रवर्धनमा पुर्याएको योगदानका लागि जनही ११ हजार रुपैयाँ सहित सम्मान गरियो ।
पूर्व अन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, सिद्धान्त लोहनी, महेश रिजाल, लवभक्त श्रेष्ठ, जितेन्द्र चौधरी, किरण लामा तामाङ लगायतलाई समेत दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरियो ।
सम्मान समारोहमा प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा खेल मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । ‘यो बजेट विगतको तुलनामा दोब्बर हो, जसको ठूलो हिस्सा पूर्वाधार निर्माणमा खर्च हुनेछ ।’ मन्त्री चौधरीले स्पष्ट गरे।
उनले ’स्कुल देखि ओलम्पिक सम्म’ कार्यक्रममार्फत विद्यालयस्तर देखि अन्तर्राष्ट्रिय स्तर सम्म प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकार प्रतिबद्ध रहेको बताए । मैदान, ट्याक, स्वीमिङ पुल, कभर्ड हल लगायत संरचना निर्माणमा तीव्रता दिइने पनि उनले उल्लेख गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सहितको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर