बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ३१ असार २०८२

मन्त्री राजकुमार गुप्ताद्वारा राजीनामा: घुस प्रकरणमा अनुसन्धानका लागि मार्गप्रशस्त

https://jawaaf.com/storage/01K06MZ2H6TJV37MDKJTMZ5WAK.jpg

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी ओलीसमक्ष आज (मंगलबार) राजीनामा बुझाएका हुन् ।

मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै आफूमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो कदम चालेको स्पष्ट पारेका छन् । उनले  "कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ" भन्दै आफू निर्दोष रहेको संकेत गरेका छन् ।

गुप्ताले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, "विगत केही दिनदेखि निरन्तर मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । अब लागेका आरोप अनुसन्धान गरी सत्य-तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।"

उनले प्रविधिको दुरुपयोगले अरू कोही पनि शिकार नबनून् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन् । अन्तमा, मन्त्री गुप्ताले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताका साथ जनताको घरदैलोमा फर्कने प्रण गरेका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png