बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २५ साउन २०८२

हर्कवादको उदय : धरानको नेतृत्वमा पपुलिज्मको परीक्षण

https://jawaaf.com/storage/01K29HVDGTV8GCKT4TDY7XY4KN.jpg

धरानको स्थानीय राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नाम विशेष रूपमा छाएको छ "हर्क साम्पाङ"। न कुनै स्थापित राजनीतिक दलसँग आबद्धता, न राजनीतिक प्रशिक्षण, न त परम्परागत नेतृत्व शैली; तर पनि उनी जनताबाट प्रत्यक्ष निर्वाचित नगरप्रमुख बने ।

खानेपानी समस्याविरुद्धको फेसबुक लाइभ, कर्मचारीलाई फोन गर्दै हप्काउने भिडियो, टेम्पुमा माइक बोकेर जनतासमक्ष देखिने शैली, सामाजिक सञ्जालमा तिखा र भावनात्मक अभिव्यक्ति, भिड तान्ने कला, र फेसबुक-टिकटकमार्फत प्रत्यक्ष पहुँच यी सबैले उनलाई असाधारण लोकप्रिय बनाए। तर प्रश्न छ के यो केवल लोकप्रियता हो, वा नेपाली राजनीतिमा पपुलिज्म (populism) को नयाँ रूप ?

पपुलिज्मको व्याख्या
पपुलिज्म भनेको जनताको नाममा जनताको प्रतिनिधित्वको दाबी गर्ने तर संविधान, कानून, मिडिया, प्रतिपक्ष जस्ता संस्थागत संरचनालाई ‘भ्रष्ट’ वा ‘अवरोध’ मान्ने प्रवृत्ति हो।
पपुलिस्ट नेताहरू आफूलाई “जनताको एक मात्र प्रतिनिधि” का रूपमा प्रस्तुत गर्छन्, भावनामा आधारित राजनीतिक अभियान चलाउँछन् र तर्कभन्दा नारा तथा जनभावनामा जोड दिन्छन् ।

हर्क साम्पाङमा पपुलिस्ट लक्षण
“म सानो सेवक हुँ” भन्ने तर “म बिना धरान चल्दैन”, “यो देशले हर्कवादबाट मात्र निकास पाउँछ”, “मलाई सुझाव दिने तेरो हैसियत के हो” जस्ता वाक्यहरू यी आत्ममुग्धता र व्यक्तिवादका स्पष्ट संकेत हुन्।
भगवान शिवले कालकुट विष पिएर पनि त्यति लठ्ठ भएनन् होला, जति उनी “संस्थागत प्रणाली” भन्दा “व्यक्तिको महिमामण्डन” अर्थात हर्कवादको नशामा छन् ।
अभियान्ता हुँदा आफू उठाएका मुद्दा जनताको लागि थिए भन्ने दाबी गर्ने उनी, अहिले अन्य जनप्रतिनिधि वा समूहले धरानका समस्यामा ध्यानाकर्षण गराउँदा, त्यसलाई आफ्नो नेतृत्व कमजोर पार्ने षड्यन्त्रको रूपमा चित्रित गर्छन् ।

व्यक्तिमा विश्वास, प्रणाली ओझेलमा
धरानमा “धरान भनेकै हर्क, हर्क भनेकै धरान” भन्ने भाष्य निर्माण हुँदैछ। संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाभन्दा व्यक्ति ‘हर्क’ नै सर्वेसर्वा हो भन्ने धारणा मौलाउँदै गएको छ ।
शनिवारे श्रमदान, लागू औषधविरुद्ध माइकिङ, फोहोर टिप्ने, बेसार फ्याक्ट्रीको प्रचार यी सबै प्रचारमुखी कामका रूपमा चर्चित छन् । तर दीर्घकालीन प्रभाव कत्तिको दिगो हुन्छ भन्ने मूल्याङ्कन आवश्यक छ ।

विकासका मूल मुद्दा ओझेलमा
पार्क र मूर्तिमा लगानी गरेर “धरान परिवर्तन” को नारा दिइँदै गर्दा, फोहोर व्यवस्थापन, सप्तकोशी खानेपानी आपूर्ति, कोशी करिडोर विस्तार, सुरुङ मार्ग, शैक्षिक सुधार, स्वास्थ्य, स्वरोजगार, कर सुधार, डिजिटल धरान जस्ता संरचनात्मक मुद्दा भने पछि धकेलिएका छन् ।
“श्रमदान नै विकासको अन्तिम सत्य हो” भन्ने विचार भ्रामक हो। नीति, योजना, दीर्घकालीन सोच, पारदर्शिता र संस्थागत संयन्त्र बिना दिगो विकास सम्भव हुँदैन ।

कानुनी अस्वीकार र लोकतन्त्रमा खतरा
“नेपालको कानुन मान्दिन, कानुन त मेरो नेतृत्वमा बनाउँछु” भन्ने अभिव्यक्ति लोकतन्त्रको मर्ममाथि सीधा प्रहार हो। संविधानको संरचना र संस्थाको महत्व नबुझी व्यक्तिवादी बयान दिनु तानाशाही प्रवृत्तिको बीउ हो।
समर्थकहरू आलोचना सहन सक्दैनन् । प्रतिपक्ष वा आलोचकलाई शत्रु ठान्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसले संस्थाभन्दा व्यक्तिकेन्द्रित शासनलाई बल पुर्‍याउँछ ।

हर्कको उदय : दोषी को ?
यो नेतृत्व शैलीको उदय आकस्मिक होइन। राजनीतिक दलहरूको अकर्मण्यता, भ्रष्टाचार र जनसंवेदनशीलताको अभावले नै पपुलिज्मलाई मलजल गरेको हो। दलप्रतिको वितृष्णा, भावनामा आधारित निर्णय गर्ने बानी, र ‘हिरो’ खोज्ने मानसिकताले हर्कलाई देवतुल्य बनाएको हो। बुद्धिजीवी सहर मानिने धरानमा अहिले तर्क, अध्ययन र चेतनाको खडेरी देखिन्छ ।

सामाजिक सञ्जाल र विचारको संकुचन
फेसबुक, टिकटक, युट्युब जस्ता प्लेटफार्मले विचार र बहसलाई भावनामा सीमित बनाइदिएका छन्। एक भिडियो वा क्लिपकै आधारमा सत्य–असत्यको फैसला गर्ने, सामान्य टिप्पणीमै उग्र प्रतिक्रिया दिने प्रवृत्ति बढेको छ ।
संविधानले दिएको बोल्ने, असहमति जनाउने अधिकारलाई नै खारेज गर्ने गरी आलोचकहरूलाई सामाजिक तिरस्कार, गाली, बेइज्जती र अपमान गर्नु कानुनी रूपमा अपराध हो, तर यो बोध समर्थकमा छैन ।

लोकतन्त्रको परीक्षण
लोकतन्त्रमा नेता–जनता सम्बन्ध जवाफदेहितामा आधारित हुनुपर्छ, भक्तिमा होइन। लोकप्रियता र भावनालाई मात्र सफलता मान्ने हो भने, भविष्यमा तानाशाही प्रवृत्ति जन्मिन्छ।
हाम्रा नेताहरूले बेला–बेला भाषणमा आदर्शको रूपमा स्विट्जरल्याण्डको उदाहरण दिन्छन् । त्यहाँ नेताको नाम हामीले सायद सुनेका पनि हुँदैनौं, नेताहरूको व्यक्तिगत पहिचानभन्दा प्रणाली र संस्थागत क्षमता बलियो भएकाले नै देश आर्थिक रूपमा संसारका शीर्ष दश धनी राष्ट्रमध्ये एकमा पर्छ । साथै, संयुक्त राष्ट्रसंघको मानव विकास सूचकाङ्क मा पनि स्विट्जरल्याण्ड विश्वकै अग्रस्थानमा रहेको छ ।

निष्कर्ष
हर्क साम्पाङले जनताको आवाज बुलन्द पारेका छन्, त्यो स्वागतयोग्य हो। तर व्यक्तिगत महिमा बढाउँदै संस्थाको अस्तित्व कमजोर पार्ने हर्कवाद लाई विवेकले मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ ।
वि.सं. २०१५ को संविधानमा धारा ५५ मार्फत राजा महेन्द्रले आफैँलाई संविधानभन्दा माथि राख्दै वि.सं. २०१७ मा संसद् भङ्ग गरे, निर्वाचित सरकार अपदस्त गरे, र ३० वर्षे निरङ्कुश पञ्चायती शासनको थालनी गरे त्यो तितो इतिहास भुल्नु हुँदैन ।
हामी स्वविवेकी, विवेकशील र उत्तरदायी नागरिक बन्नुपर्छ, होइन भने केवल भक्तिको भारमा थिचिएका अनुयायी बन्न पुग्नेछौँ ।

( लेखक लिम्बुले धरानस्थित महेन्द्र क्याम्पसबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्दै समसामयिक राजनीतिक विषयमा कलम चलाउँदै आएका छन् ।)

सम्बन्धित खबर

/frontend/images/redline.png