दुर्गा प्रसाईंले लिङ्देनमाथि धोका दिएको आरोप, नयाँ राजनीतिक दल खोल्ने घोषणा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् ।
सोमबार पत्रकार सम्मेलनमार्फत उनले आन्दोलनमा लिङ्देनले धोका दिएको दाबी गर्दै भारतबाट गाडी चोरेर ल्याई झापाको बिर्तामोडमा टुक्र्याएर बेच्ने काम गरेको समेत आरोप लगाए । प्रसाईंले भने, “राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे । अब उनलाई भनिदिनु, १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर भात खाने म होईनँ । १५ गते राप्रपाले मिलेर छुरी हानेको छ, म बाँच्न सफल भएको मान्छे हुँ ।”
यस्तै, उनले नयाँ राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् । राजनीतिमा संलग्न हुने रहर नरहेको भए पनि बिग्रिएको राजनीतिक प्रणाली सुधार्न आफू बाध्य भएको उनको भनाइ छ ।
“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मुलुकको वर्तमान अवस्था, देश र जनतामाथि भएको लुटपाट टुलुटुलु हेरेर बस्न सक्दिनँ । मेरो परिवारभन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । त्यसैले समाजलाई सुधार गर्न राजनीतिक दल गठन गर्ने निर्णय गरेको हुँ,” प्रसाईंले बताए ।
उनका अनुसार अब अभियान मात्र चलाएर सम्भव नभएकाले संविधानअनुसार पार्टी खोल्ने दबाब बढेको छ । उनले चाँडै नै नयाँ दलको नाम सार्वजनिक गर्ने जानकारी समेत दिएका छन् ।
सम्बन्धित खबर