बाजुरामा रैथाने बाली संरक्षण अभियान सुरु
बाजुरा । भौगोलिक हिसाबले विकट तर उत्पादनमा प्रचुर सम्भावना बोकेको स्वामीकार्तिक खापर गाउँपालिकाले कागुनो, झुमरो र चिनो जस्ता रैथाने बालीको संरक्षण र प्रवर्द्धन अभियान थालनी गरेको छ ।
पालिकाका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार पछिल्ला वर्षमा यी बाली लोप हुने अवस्थामा पुगेकाले पुनः खेतीमा प्रोत्साहन गर्न अभियान सुरु गरिएको हो । “यी बाली मानव स्वास्थ्यका लागि निकै उपयोगी छन्, त्यसैले कृषकलाई बिउविजन वितरण गरेर संरक्षण अभियान अघि बढाइएका छौँ,” उनले भने ।
गाउँपालिकाको कृषि शाखाका सहायक प्रमुख रत्न रावलका अनुसार कृषकले रैथाने बालीलाई प्राथमिकता दिने हो भने आम्दानीसँगै संरक्षणमा पनि टेवा पुग्नेछ । “कृषकलाई हौसला दिँदै बिउविजन तथा अन्य सहयोग गर्दै आएका छौँ,” उनले बताए ।
स्थानीय नरबहादुर लुहारले प्रविधिको विकास र बजारबाट दाल–चामल सहजै आउन थालेपछि रैथाने बाली हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे । तर पालिकाले बिक्री–वितरण, बजारको व्यवस्था र ढुवानीमा अनुदान दिन थालेपछि कृषकको चासो फेरि बढेको उनको भनाइ छ ।
हाल स्थानीयले बाझो जमिनमा कागुनो, झुमरो र चिनो खेती गर्न थालेका छन् । कृषि शाखाका तथ्यांकअनुसार पालिकामा यस्ता रैथाने बालीबाट वार्षिक झण्डै १.२ मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ ।
सम्बन्धित खबर