लिपुलेक हुँदै भारत–चीन व्यापार खुला गर्ने निर्णयप्रति जसपाको आपत्ति
काठमाडौँ I भारत र चीनले लिम्पियाधुरा–लिपुलेक क्षेत्र हुँदै व्यापार र आवागमन खुला गर्ने समझदारी गरेको विषयले जनता समाजवादी पार्टी (जसपा) को ध्यानाकर्षण गराएको छ । पार्टीले यो निर्णयलाई नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि गरिएको गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको हो ।
जसपाका अध्यक्ष अशोक कुमार राईद्वारा जारी वक्तव्यमा भनिएको छ, “लिम्पियाधुरा–लिपुलेक क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकारले पहिले नै स्पष्ट दाबी गरिसकेको छ । भारत र चीन दुवै पक्षलाई कूटनैतिक नोटमार्फत आपत्ति जनाइसकेको अवस्थामा त्यसको बेवास्ता गर्दै पुनः नयाँ सम्झदारी गर्नु आपत्तिजनक छ ।”
पार्टीले नेपाल सरकारलाई ठोस ऐतिहासिक प्रमाणहरूको आधारमा गम्भीर कूटनीतिक पहल गर्न र सम्बन्धित पक्षहरूसँग संवादमार्फत विवाद समाधान गर्न आग्रह गरेको छ ।
वक्तव्यमा भनिएको छ, “लिम्पियाधुरा–लिपुलेक क्षेत्र नेपालको भूमि हो भन्ने पुष्टि हुने पर्याप्त प्रमाणहरू छन् । त्यसैले सरकारले अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट धारणा राख्दै कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्नुपर्छ ।”
सम्बन्धित खबर