शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०९ भदौ २०८२

कोशी प्रदेशले सार्वजनिक गर्यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय सेवामा जोड

https://jawaaf.com/storage/01K3FEDC8CFSDBMNP7NG80KZY3.jpg

विराटनगर । कोशी प्रदेश सरकारले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकबाट स्वीकृत नीति आइतबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो। मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार उक्त नीति ६ प्रमुख उद्देश्य र २६ नीति तथा रणनीतिसहित तयार गरिएको छ।

नयाँ नीतिले अस्पतालमा गुणस्तरीय सेवा अभाव, स्वास्थ्य पूर्वाधार र जनशक्तिको कमी, उपलब्ध जनशक्तिको असमान व्यवस्थापन र लगानी अभावलाई प्रदेशका प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। यसैका आधारमा चिकित्सकीय विशेषज्ञता, सघन उपचार सेवा विस्तार र रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता, प्रजनन उमेरका महिलामा न्यून पोषण, क्षयरोग, कुष्ठ रोग, उपेक्षित उष्णदेशीय तथा कीटजन्य रोग नियन्त्रणलाई नीति केन्द्रित गर्ने उल्लेख गरिएको छ।

मानसिक स्वास्थ्यलाई पनि नीतिले विशेष प्राथमिकतामा राखेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार नेपालमा औसत १३.९५ प्रतिशत मानिस मानसिक रोगबाट पीडित छन् भने किशोरावस्थामा यो दर ११.४५ प्रतिशत छ। मद्यपानको लत ६.५५ प्रतिशत, लागूऔषध दुव्र्यसन ०.४५ प्रतिशत र आत्महत्याको सोच १०.६५ प्रतिशत रहेको तथ्यांकलाई आधार मानेर मानसिक स्वास्थ्य प्रवद्र्धनमा जोड दिइएको हो।

‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ भन्ने मूल लक्ष्यसहित आएको यो नीतिअनुसार पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र पर्याप्त लगानी प्राथमिकतामा रहनेछ। स्वास्थ्य विज्ञहरूका अनुसार नीति प्रभावकारी रूपमा कार्यान्वयन भएमा बालबालिका र महिलाको पोषण सुधार, रोग नियन्त्रण र मानसिक स्वास्थ्य प्रवद्र्धनमा ठोस उपलब्धि हुनेछ।

सम्बन्धित खबर

/frontend/images/redline.png