प्रविधिको विकाससँगै परम्परागत पानीघट्ट संकटमा
बाजुरा । बाजुरामा परम्परागत पानीघट्ट हराउँदै जाने क्रम तीव्र बनेको छ । प्रविधिको विकाससँगै गाउँघरमा सहजरुपमा कुटानी–पिसानी गर्ने मिल र अन्य विद्युतीय उपकरण आएपछि पानीको सहायताले चल्ने घट्ट लोपोन्मुख अवस्थामा पुगेका हुन् ।
पहिल्यैदेखि गाउँघरमा दैनिक अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट अहिले भने विरलै मात्र देखिन थालिएको छ । मानिसहरू व्यस्त र विलासी जीवनमा निर्भर बन्दै गएसँगै सजिलो र छिटो हुने प्रविधियुक्त मिलको प्रयोग बढेपछि परम्परागत प्रविधि हराउँदै गएको हो ।
बडीमालिका नगरपालिका–७ का घट्ट चालक कञ्जरे लुहारका अनुसार, पानीघट्टमा बढी मेहनत लाग्ने तर मिलजस्ता आधुनिक उपकरणमा छिटो पिस्न सकिने भएकाले घट्टप्रतिको आकर्षण हराउँदै गएको छ । “पहिले गाउँघरभरि दर्जनौँ घट्ट सञ्चालनमा थिए, तर अहिले प्रायः सबै बन्द भएका छन्,” उनले भने ।
त्यस्तै, स्थानीय आदीचन्द्र पाध्यायका अनुसार प्रविधिको विकासले पानीघट्ट मात्र नभई ढिकी, जातो, निगालोका उपकरणलगायतका परम्परागत प्रविधिहरू पनि हराउँदै गएका छन् । “पानीघट्टमा पिसिएको पिठोबाट बनेको ढिँडो स्वादिलो मात्र नभई पौष्टिक पनि मानिन्थ्यो, तर अहिले सबै विद्युत् मिलमै निर्भर हुने चलन बढेको छ,” उनले बताए ।
हाल जिल्लाका सबै ९ वटै पालिकामा विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्ट झन् संकटमा परेको देखिन्छ । परम्परागत सीप झल्काउने यी घट्ट लोपिँदै जाँदा तिनको अस्तित्वसमेत संकटमा परेको स्थानीयको चिन्ता छ ।
सम्बन्धित खबर