हर्क साम्पाङका समर्थकहरू भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’
हर्क साम्पाङका समर्थकहरूले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन् । आइतवार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछिको कुराकानीमा समर्थकहरूले श्रम संस्कृति पार्टीले इतिहास रच्ने दाबी गरेका हुन् ।
समर्थक लिजा राईले पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोडनु रहेको औंल्याइन् । उनले पार्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वास व्यक्त गरिन । पूराना पार्टीहरूले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा मुलुकमा अस्थिरता आएको उनको भनाइ थियो ।
‘हाम्रो पार्टी ऐतिहासिक पक्षसँग जोडिएको छ । आगामी दिनमा पार्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वस्त छौँ । पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग घुलमिल गराउनु हो,’उनले भनिन् ।
अर्की समर्थक रेनु साम्पाङले आगामी निर्वाचनमा पार्टीले भाग लिने उल्लेख गर्दै मुख्य एजेन्डा भनेको पृथ्वी बचाउनु रहेको उल्लेख गरिन् । ‘माटो र ढुंङगा विना पृथ्वी नै रहन्न त्यसैले पार्टीको नाम श्रम संस्कृति राखेका हौँ । अनि चुनाव चिन्ह माटो रोजेका हौँ,’उनले अगाडि भनिन्,‘ आगामी चुनावमा हाम्रो पार्टी सहभागी हुन्छ । हर्क साम्पाङले गरेको कामलाई निरन्तरता दिँदै देश बनाउने छौँ ।’
अर्का समर्थक इन्द्र कुमार चाम्लिङले नेपालमा हर्क साम्पाङ जस्तै श्रम गर्ने नेता आवश्यक रहेको दावी गरे । उनले बोलेर वा भाषण गरेर मात्र देशको विकास नहुने समेत बताए ।
उनले भने,‘श्रम गरेर मात्र देशको विकास हुन्छ, बोलेर वा भाषण गरेर विकास हुँदैन भन्ने कुरा प्रमाणित गरेका छौँ । देशमा श्रम गर्ने नेता चाहिएको छ । हर्क साम्पाङको भिजनमा कुनै जाति, वर्ग, समुदाय नभनि पार्टी निर्माण गरेका हौँ ।’
सम्बन्धित खबर