बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

https://jawaaf.com/storage/01HY61AWCEE2RN5ACZAPSWFJ06.jpg

कास्की I पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जित्नुभएको छ । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको हो । पोखरा –१७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही रु ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।     
     
प्रकाशले निर्धारित २८ किमी दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय हुनुभयो ।     
     
महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय हुनुभयो । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गर्नुभयो । प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः रु ३०-३० हजार र रु २०-२० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।     
     
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बन्नुभयो । उहाँहरुले जनही रु १०-१० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो । विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।     
     
पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । पोखरा–१७ पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्सयाङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो ।     
 

सम्बन्धित खबर

/frontend/images/redline.png