हर्क साम्पाङद्वारा सरकारलाई खुल्ला पत्र : सीमा, कूटनीति र अर्थतन्त्रबारे प्रश्न
काठमाडौं, २२ वैशाख २०८३ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै खुल्ला पत्र सार्वजनिक गरेका छन्। सुनसरी–१ बाट निर्वाचित राईले सीमाना सुरक्षा, कूटनीतिक पहल, विपद् व्यवस्थापन र आर्थिक नीतिलगायतका विषयमा सरकारलाई जवाफदेही बन्न आग्रह गरेका छन्।
पत्रमा उनले लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने सडक निर्माण गर्दा नेपाल सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। उनले दार्चुला क्षेत्रको महाकाली नदी आसपासको सीमामा भएको अतिक्रमणप्रति पनि सरकार मौन बसेको टिप्पणी गरेका छन्। अब उक्त विषयमा केवल कूटनीतिक नोट पठाएर मात्रै नपुग्ने भन्दै उनले बहुपक्षीय वार्ता (नेपाल, भारत, चीन र संयुक्त राष्ट्रसंघको सहभागिता) सुरु गर्नुपर्ने माग गरेका छन्।
राईले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने आवश्यकता औंल्याउँदै आन्तरिक काममा प्रयोग गरिएकोप्रति पनि असन्तुष्टि जनाएका छन्। “सीमा सुरक्षा कमजोर हुँदा अतिक्रमण बढेको छ,” उनले पत्रमा उल्लेख गरेका छन्।
त्यसैगरी, उनले सुकुम्बासी बस्ती हटाउने कार्य रोक्न र विपद् प्रभावित क्षेत्रमा डोजर तथा स्रोत परिचालन गर्न आग्रह गरेका छन्। विदेशी ऋणको बढ्दो भारप्रति चिन्ता व्यक्त गर्दै उनले अर्थतन्त्र सुधार गर्न नसक्ने सरकारले पदमा बसिरहन नहुने बताएका छन्।
बजेट निर्माण प्रक्रियामा सबै दलका सांसद र जनताका आवश्यकतालाई समेट्नुपर्नेमा जोड दिँदै उनले सरकार पारदर्शी हुनुपर्ने र नियमित रूपमा पत्रकार सम्मेलनमार्फत जनतालाई जानकारी दिनुपर्ने माग गरेका छन्।
राईले आफ्ना प्रश्नहरूको जवाफ सार्वजनिक रूपमा दिन सरकारलाई आग्रह गरेका छन्। अन्यथा आफूले निरन्तर रूपमा यस्ता प्रश्न उठाइरहने चेतावनी पनि दिएका छन्।
सम्बन्धित खबर