ढाकामा लगातार बम विस्फोट र आगजनी
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन् । शनिबार मात्रै जत्राबारी र कमलापुर क्षेत्रमा गरी ६ वटा बम विस्फोट भएका छन् भने तीनवटा बसमा आगजनी गरिएको छ ।
जत्राबारीको समाद सुपर मार्केटअगाडि शनिबार साँझ करिब ७ः४० बजे चारवटा बम विस्फोट हुँदा एक जना रिक्सा चालक घाइते भएका छन् । त्यसको केही घण्टापछि कमलापुर रेलवे स्टेसनको प्लेटफर्म नम्बर २ को टाढाको भागमा थप दुईवटा बम विस्फोट भएका थिए । रेलवे स्टेसनमा भएको घटनामा भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
यी घटनाभन्दा एक दिनअघि शुक्रबार पनि ढाकाका विभिन्न स्थानमा बम विस्फोट भएका थिए । जत्राबारी प्रहरी चौकी, मालिबाग, अगरगाउँ, महाखाली, मगबजार, रामपुरा र ढाका कलेज आसपासमा विस्फोट भएको रिपोर्ट सार्वजनिक भएको थियो । बम विस्फोटसँगै शनिबार साँझ राजधानीका तीन स्थानमा बसमा आगजनी भएको छ । मिरपुर–११ स्थित जमजम टावरनजिक शिखोर परिवहनको बसमा साँझ करिब ७ः१३ बजे आगो लगाइएको थियो ।
त्यसैगरी मिरपुर–१ को अन्सार क्याम्प क्षेत्रमा अभिजात परिवहनको बसमा पनि आगजनी भएको थियो । सेन्ट्रल बड्डास्थित गाडी ग्यारेज नजिक पार्क गरिएको अलिफ परिवहनको बसमा राति करिब ८ बजे आगो लगाइएको थियो । तीनै घटनामा मानवीय क्षति नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लगातार भएका विस्फोट र आगजनीका घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । पछिल्ला दुई दिनमा राजधानीका विभिन्न स्थानमा विस्फोट र सार्वजनिक यातायातमा आगजनीका घटना दोहोरिएपछि ढाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । एएनआई
सम्बन्धित खबर